काठमाडौँ, जेठ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति र परम्पराको निरन्तरता तथा देशका लागि योगदान गर्न गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) लाई आग्रह गर्नुभएको छ । उहाँले नेपाली डायस्पोराको हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट विचलित नहुन सङ्घलाई सुझाउनुभयो । उहाँले सानो रूपमा भए पनि गाउँघरमा रोजगारीका अवसर सिर्जना गर्नसमेत एनआरएनएसँग आग्रह गर्नुभयो ।
सङ्घद्वारा बुधबार यहाँ आयोजित
‘एनआरएनए ग्लोबल कन्क्लेभ २०२५’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “यस संस्थाको अस्तित्व रक्षाका लागि यस कन्क्लेभले निष्कर्ष निकालोस् । यस संस्थालाई राजनीतिक पार्टीका जनवर्गीय सङ्गठन बन्नबाट बचाउनका लागि, अरू कसैको फाइदाका लागि प्रयोग हुने कुराबाट जोगिएर समग्र नेपाली डायस्पोरा र नेपालको हितमा काम गर्ने, समर्पित हुने संस्थाका रूपमा अगाडि बढाउन तपाईंहरू सफल हुनुहोस् ।” उहाँले कन्क्लेभबाट निस्केको निष्कर्ष र सुझावका आधारमा गैरआवासीय नेपालीसँग सम्बन्धित कानुनमा संशोधनका लागि सरकारले काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न एनआरएनएलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरू देखा पर्नु उचित नहुनेमा जोड दिनुभयो । विधिसम्मत व्रिmयाकलापमा मात्र अगाडि बढ्न र स्वेच्छाचारिता नदेखाउन सम्बन्धित सबैसँग आग्रह गर्दै उहाँले भन्नुभयो, “यस संस्थामा दलीय राजनीति गर्नु हुँदैन र यसमा विभाजनको प्रयास सफल हुँदैन । विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहने छ ।” उहाँले गैरआवसीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन सबैसँग आग्रहसमेत गर्नुभयो ।
उहाँले गैरआवासीय नेपाली सङ्घलाई दलीय हितमा प्रयोग गर्न नहुने बताउँदै गैरआवासीय नेपाली सङ्गठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “विधिसम्मत व्रिmयाकलापमा सरकारको सधैँ साथ रहन्छ । मेरो पनि साथ रहन्छ । नेकपा एमाले जसको अध्यक्ष म छु, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहन्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेकपा एमालेले गैरआवासीय नेपाली सङ्गठनलाई आफ्नो हितमा, दलीय हितमा प्रयोग गर्ने छैन । डायस्पोराको हितमा र देशको हितमा प्रयोग गर्ने छ ।”
आपसमा एकताबद्ध भएर जानुपर्ने संस्थामा विवाद हुनु उचित नरहेको बताउँदै उहाँले भन्नुभयो, “व्यक्तिका लागि विधान फेर्ने ढङ्गले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहान र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रूपमा यो विकास नहोस् ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “विधिसम्मत ढङ्गले तपाईंहरू चल्नूस् । यो विधिको दुनियाँ हो । विधिको जमाना हो । विधि तोडेर यस जमानामा अगाडि जान्छु भन्ने कुरा त स्वेच्छाचारिता हुन्छ, त्यसो गर्न हुँदैन ।” चुनाव हार्दैमा अर्को सङ्गठन बनाउन नहुने उहाँको भनाइ थियो ।
एनआरएनका वर्तमान अध्यक्ष डा. बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिवत् महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री
ओलीले डा. केसी नेतृत्वको ११ औँ कार्यसमितिलाई आगामी अक्टोबरसम्म काम गर्न पाउने वैधानिक अधिकार रहेको जिकिर गर्नुभयो । उहाँले केसी नेतृत्वको कार्यसमितिलाई सहमति र एकताको वातावरण बनाउन आग्रहसमेत गर्नुभयो । एनआरएनको १२ औँ अधिवेशन अक्टोबरमा हुने छ ।
एनआरएनको अध्यक्ष डा. केसीले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी स्पष्ट व्यवस्था गर्न माग गर्नुभयो । ‘एनआरएनएको अधिकार, राष्ट्र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको सो कन्क्लेभमा गैरआवासीय नेपाली नागरिकता, लगानीको प्रवर्धन तथा सुनिश्चितता, श्रम आप्रवासन तथा सामाजिक सुरक्षा र पर्यटन तथा नेपाली वस्तुहरूको प्रवर्धन विषयमा विस्तृत छलफल गरी निष्कर्ष निकालिने उहाँले जानकारी दिनुभयो । सन् २००३ मा स्थापना भएको एनआरएनएको सङ्गठन ९० देशमा गठन भइसकेको छ ।