• २८ वैशाख २०८१, शुक्रबार

महेन्द्र पार्कको पुनर्निर्माणले चहलपहल बढ्यो

blog

पुनर्निर्माण भएको महेन्द्र पार्क । तस्बिरः कविराज घिमिरे

धनकुटा हिले, जेठ २६ गते । दुइ दशक अघिसम्म धनकुटा पुग्ने जोकोहीको लागि प्रसिद्ध थियो, धनकुटाको सल्लेरी वनस्थित महेन्द्र पार्क । राजा महेन्द्रसँग जोडिएको उक्त पार्क त्यसयता बेवास्ता तथा विभिन्न आन्दोलनको मारमा पर्दा जीर्ण थियो । तर अहिले स्थानीयवासीको सक्रियतामा महेन्द्र पार्कले पुरानै शैलीमा नयाँपन पाएको छ ।

राजा महेन्द्र धनकुटा भ्रमणमा आउने भएपछि तत्कालीन धनकुटा गौडाका बडाहाकिम रङ्गनाथ उप्रेतीले २०१२ सालमा धनकुटास्थित ऐतिहासिक सल्लेरी वनमा महेन्द्र पार्क निर्माण गर्न लगाएका थिए । एक वर्षपछि २०१३ सालमा बडाहाकिम गेहेन्द्र शमसेर थापाले निर्माण पूरा गरेका थिए । सोही वर्ष राजा महेन्द्र धनकुटा आएपछि त्यही पार्कमा कविता गोष्ठी गरेका थिए । 

पूर्वमा पार्कको प्रचलन सुरु नहुँदै धनकुटा गौंडामा निर्माण भएको सो पार्क निकै लामो समयसम्म रह्यो । तर पछि पार्क बेबास्ताका कारण बेवारिसे हुँदा भत्किएर जीर्ण भएको थियो । 

अलि अलि रहेको प्रमाण पनि २०६२÷६३ को जनआन्दोलनको निसानामा पर्यो र पूर्ण रुपमा जीर्ण भयो । तर अहिले फेरि एक पटक सो पार्कले पुरानै शैलीको नयाँ रुप पाएको छ । पूर्वकै पुरानो र इतिहाससँग जोडिएकोले पार्क पुनः निर्माण गरिएको निर्माता बताउँछन् । यो धनकुटाको एउटा इतिहास भएकाले पुनः निर्माणमा लागेको पार्क निर्माणका नेतृत्वकर्ता ठाकुरप्रसाद बराल बताउनुहुन्छ । “यो पार्क राजा महेन्द्रसँग जोडिएको छ पूर्वमा पार्कको इतिहास सुरु नहुँदै यो पार्क बनेको थियो तर विभिन्न काल खण्डमा यसलाइ भत्काइयो जीर्ण बनाइयो तर एउटा इतिहास भएकाले पुनः निर्माण गर्यौ” बराल भन्नुहुन्छ ।

पाार्कमा पुरानै शैलीको इनार, ढुङ्गा र माटोबाट निर्माण गरिएको वाल, गेट, सिँढी तथा लामा र चेप्टा ढुङ्गा प्रयोग गरी बस्ने स्थान निर्माण गरिएको छ ।  जुन २०१२ सालमा निर्माण गर्दा प्रयोग गरिएको थियो । पार्क निर्माण गर्न करिब चार लाख रुपियाँ लागेको छ । सरकारी सहयोग बिनै पुनर्निर्माणका लागि सबै रकम शुभचिन्तक दाताहरुबाट सङ्कलन भएको स्थानीय राजेश्वरबहादुर श्रेष्ठ बताउनुहुन्छ ।“पुराना यो पार्क थाहा पाउने ब्यक्तिलाइ हामीले यो पार्कको बारेमा कुरा गर्यौ विभिन्न स्थानमा रहने ब्यक्तिले पुनः निर्माण गर्नुपर्ने कुरा गर्नुभयो सहयोग समेत गर्नुभयो त्यसैले सरकारी सहयोग बिना नै पुनः निर्माण सम्भव भयो”  श्रेष्ठ भन्नुहुन्छ ।

पार्क बराल र श्रेष् सहित मूर्तिकार श्रीकृष्ण जोशी, स्थानीय ज्ञानबहादुर थापा, मनोजनारायण श्रेष्ठ, इश्वर श्रेष्ठ, मूर्तिकार सोपाल राई तथा बरख गण सल्लेरी ब्यारेक, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म, कोशी आयुर्वेदको सहयोग छ । यो पार्क करिब दुइ दशक अघिसम्म धनकुटा आइपुग्ने जो कोहीको लागि आकर्षणको केन्द्र थियो । धनकुटा बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनको लागि आउने विद्यार्थी माझ त अझ लोकप्रिय थियो ।   

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।