काठमाडौँ, वैशाख २३ गते । विसं. २०७२ को भूकम्पले खण्डहर बनेको हनुमानढोकास्थित कालभैरव मूर्तिसँगै रहेको तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौँको भवन भत्काउने वा प्रबलीकरण गर्ने भन्ने निष्कर्षमा सम्बन्धित निकाय पुग्न सकेको छैन । भूकम्पको एक दशक बितिसक्दा पनि सो भवनलाई के गर्ने भन्नेबारे सम्बन्धित निकाय अझै निष्कर्षमा पुग्न नसकेको हो ।
भवन रहेको जग्गा नेपाल प्रहरीको नाममा रहे पनि विश्व सम्पदा क्षेत्रमा रहेकाले सरोकारवाला निकाय गृह मन्त्रालय, काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग र हनुमानढोका दरबार हेरचाह अड्डा त्यस सम्बन्धमा कुनै निर्णयमा पुग्न सकेका छैनन् । हनुमानढोका प्रहरी कार्यालयको जग्गाको क्षेत्रफल दुई रोपनी आठ आना छ । सो भवनमा रहेको प्रहरी कार्यालय २०७२ सालको भूकम्पपछि टेकुमा सारिएको थियो ।
प्रहरी कार्यालय टेकुबाट भद्रकालीस्थित नयाँ भवनमा स्थान्तरण भइसकेको छ तर हनुमानढोकाको साढे चारतले सो भवन दिनप्रतिदिन जीर्ण हुँदै जाँदा जोखिम बढ्दै गएको छ । मानव बस्नलायक नभएको भनी ‘रेड स्टिकर’ लगाइएको सो भवनमा अहिले जनसेवा ट्राफिक प्रहरी कार्यालयका प्रहरी बस्दै आएका छन् भने भवनको प्राङ्गणमा कबाडी भइसकेका मोटरसाइकल र काष्ठमण्डप पुनर्निर्माणका क्रममा बचेका पुराना काठ तथा बाँस थुपारिएका छन् । २०१५ सालमा निर्माण भएको सो भवन विश्व सम्पदाको मापदण्डविपरीत रहेको बताइएको छ ।
जोखिममा रहेको सो भवन भत्कियो भने मानवीय क्षति हुन सक्ने भन्दै हनुमानढोका दरबार हेरचाह अड्डाले भवन भत्काउन सुझावसहित पुरातत्व विभागलाई पत्राचार गरे पनि विभागबाट अहिलेसम्म कुनै जवाफ आएको छैन । हेरचाह अड्डाले गत वर्ष पुस २४ गते पुरातत्व विभागलाई पत्राचार गरेको थियो ।
हेरचाह अड्डाका प्रमुख काजी प्याकुरेलले सो भवनलाई के गर्ने भन्ने विषयमा अरू निकायभन्दा जग्गाधनी रहेको नेपाल प्रहरीले विशेष चासो दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सो जग्गा गृह मन्त्रालय अन्तर्गत रहेकाले राज्यले निर्णय गरी त्यसलाई पुरातत्व अथवा सामुदायिक सम्पत्तिमा ल्याएर त्यसबारे सम्पदामैत्री ढङ्गले सोच्नु पर्छ ।” भवनको जग्गालाई खाली ठाउँका रूपमा विकास गर्नुपर्ने उहाँको सुझाव छ ।
यसअघि नै हेरचाह अड्डाले जीर्ण भवन विश्व सम्पदा क्षेत्रमा रहेकाले त्यस क्षेत्रको सौन्दर्य तथा पर्यटक आवागमनमा समेत असर पुग्ने भएको हुँदा यस क्षेत्रको समग्र सुरक्षाका लागि भवन भत्काउने सुझावसहितको पत्र पुरातत्व विभागलाई पठाइसकेको छ । हेरचाह अड्डाले भवन के, कसरी, कुन ढाँचामा भत्काउने भन्ने विषयमा यथाशीघ्र राय दिन विभागलाई आग्रह गरेको थियो ।
अड्डा प्रमुख प्याकुरेलले भन्नुभयो, “राजधानीकै प्रमुख पर्यटकीय क्षेत्रमा अवस्थित सो जीर्ण भवन पैदलयात्रीका लागि खतरा तथा आन्तरिक र बाह्य पर्यटकका लागि दृश्य प्रदूषकसमेत बनेको छ । विदेशी पर्यटकसमेत निरन्तर आवतजावत गर्ने सडकपेटी जीर्ण भवनसँगै रहेपछि यात्रुहरू डराएर हिँड्नु परेको छ ।” तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठका पालामा समेत उक्त भवन भत्काएर सो ठाउँ खुला गर्न निर्णय गरिएको थियो । सो निर्णयमा काठमाडौँ महानगर, पुरातत्व विभाग र स्थानीयवासीका प्रतिनिधिले समेत हस्ताक्षर गरेका थिए तर अहिलेसम्म सो निर्णय कार्यान्वयन हुन सकेको छैन ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले हेरचाह अड्डाले पठाएको पत्रलाई गम्भीरतापूर्वक लिँदै अन्तिम निष्कर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै उक्त भवनको तालुकदार गृह मन्त्रालयलाई तीन पटक पत्राचार गरिए पनि जवाफ नआएको जानकारी दिनुभयो । उहाँले यसबारे गृह मन्त्रालयमा आफूसहित सम्बन्धित निकायको सहभागितामा पटक पटक छलफल भएको बताउँदै उहाँले गृह मन्त्रालय पनि त्यस भवनलाई भत्काउने पक्षमा नै रहेको पाइएको बताउनुभयो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले हनुमानढोकास्थित प्रहरीको सो भवनबारे अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिनुभयो । त्यो भवनलाई भत्काउने वा प्रबलीकरण गर्नेलगायतको विषयमा निर्णय हुन बाँकी रहेको उहाँको भनाइ छ ।