• १८ वैशाख २०८२, बिहिबार

डा. क्षेत्रीलाई युगकवि सिद्धिचरण पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १८ गते । युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८२’ साहित्यकार डा. दुर्गाबहादुर सुवेदी क्षेत्री (दुबसु क्षेत्री) लाई प्रदान गरिने भएको छ । 

प्रतिष्ठानका अध्यक्ष कवि वैरागी काइँलाद्वारा बुधबार जारी विज्ञप्तिमा नेपाली भाषा साहित्यको उन्नयनमा उल्लेखनीय योगदान पुर्‍याउने डा. क्षेत्रीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको उल्लेख छ । प्राडा मोहनप्रसाद लोहनीको संयोजकत्वमा गठित त्रिसदस्यीय छनोट समितिको सिफारिसमा निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।  समितिमा प्राडा अभि सुवेदी र कवि मञ्जुल सदस्य रहनुभएको थियो । डा. क्षेत्रीकै नाममा स्थापित दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानबाट ‘भीमसेन थापा’ खण्डकाव्य प्रकाशित भएको छ । यस खण्डकाव्यलाई उहाँले नै नाटकीकरण गरी संयुक्त अधिराज्य (बेलायत) लगायत विभिन्न देशमा मञ्चनसमेत गराउनुभएको थियो । हाल उक्त नाटकलाई चलचित्रमा रूपान्तरण गर्ने तयारीमा उहाँ जुट्नुभएको छ । यति मात्र नभई उहाँले युगकवि सिद्धिचरणका कविता अङ्ग्रेजी र जापानी भाषामा अनुवाद गराई प्रकाशनसमेत गर्नुभएको छ ।

नेपाल, बेलायत, जापान र अमेरिकाका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएका डा. क्षेत्री जापानका लागि नेपालका वर्तमान राजदूतसमेत हुनुहुन्छ । उहाँ लामो समयदेखि कूटनीतिक सेवामा समेत संलग्न रहनुभएको छ । कविता, काव्य, गीत, गजल, मुक्तक तथा अनुसन्धानका क्षेत्रमा उहाँका ३८ वटाभन्दा बढी कृति प्रकाशित छन् ।