• १७ वैशाख २०८२, बुधबार

उपाध्यायको नेतृत्वमा एमाले अछाम नयाँ कमिटी चयन

blog

एमाले अछामको नयाँ निर्वाचित कमिटीको शपथग्रहण हुँदै । तस्बिरः शिवराज ढुंगाना

शिवराज ढुंगाना 

अछाम, वैशाख १७ गते । नेकपा (एमाले) जिल्ला अधिवेशनले शिवप्रसाद उपाध्यायको नेतृत्वमा ८७ सदस्यीय नयाँ कमिटी निर्विरोध चयन गरेको छ । उपाध्याय हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय सदस्य हुनुहुन्थ्यो । 

नवौं जिल्ल्ला अधिवेशनको बन्दसत्रले कमिटीको उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्ड भट्टराई, सहसचिवमा गौमती शाही र टोपबहादुर शाही निर्वाचित हुनुभएको छ । जिल्ला कमिटीको सदस्यमा खुला, महिला र युवा दशवटै स्थानीय तहको प्रतिनिधित्व हुने गरेर ६७ जना, समावेशीतर्फको दलित, आदिवासी जनजाति, अल्पसंख्यक, अपाङ्गताबाट ११ जना जिल्ला कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । 

बन्दसत्रले लक्ष्मीकुमारी बोगटीको संयोजकत्वमा चार सदस्यीय समिति पनि गठन गरिएको छ । जिल्ला अध्यक्षमा पदमा उपाध्यायसहित निवर्तमान अध्यक्ष चन्द्र बोहरा र सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व सदस्य बमबहादुर बिसीको पनि अन्तिमसम्म दावी रहेको थियो । 

नेकपा (एमाले) अछामको नवौं जिल्ला अधिवेशनलाई शनिबार उक्त दलका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, केन्द्रिय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा, केन्द्रिय सदस्य झपटबहादुर बोहरा, कमल तिमिल्सेना र यज्ञ बोगटी लगायतले सम्बोधन गर्नुभएको थियो । 

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई मंगलबार राति नै शपथ ग्रहण गराइएको छ । केन्द्रमा भीम रावलसँगको विवादले एमाले अछामको जिल्ला अधिवेशन लामो समयदेखि हुन सकेको थिएन ।