• ६ पुस २०८२, आइतबार

महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारी, प्रशिक्षक पाठक नेपालमा

blog

प्रशिक्षक हर्शल जयन्त पाठकलाई स्वागत गरिँदै ।

काठमाडौँ, पुस ६ गते । आगामी जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुन आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्शल पाठक आइतबार नेपाल आउनुभएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत मङ्गलबार मात्र पाठकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपाली खेलाडीको प्रशिक्षण क्याम्प भने यसअघिनै सुरु भईसकेको छ । 

क्यानले ग्लोबल छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । यसअघि प्रशिक्षण क्याम्पमा रहेका २६ खेलाडीबाट २० जना छनोट गरेको हो । यही २० जनाबाट अन्तिम खेलाडीको घोषणा हुनेछ ।

दोस्रो चरणको प्रशिक्षण क्याम्पमा रहेका २० खेलाडीहरुमा इन्दु बर्मा, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना कुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, सना प्रवीण, ईश्वरी बिस्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सिता राना मगर र काजोल श्रेष्ठ रहनुभएको छ ।