राममणि दाहाल
मकवानपुर, वैशाख १६ गते । शौचालयमा हत्या गरी फरार भएका मकवानपुरका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत चैत २४ गते राति २१ः५५ बजेको समयमा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं. २ डुडेठाटीका चूडामणि कँडेललाई आफ्नै घरभित्र रहेको शौचालयमा हत्या गरी फालेर फरार भएका दुई जनालाई इलाका प्रहरी कार्यालय मनहरिले मङ्गलवार पक्राउ गरेको हो ।
कँडेलको हत्या गरी फरार रहेका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.९ स्थित खर्कका वर्ष २७ का सन्चलाल मोक्तान र वर्ष २५ का प्रीतिलाल भन्ने पृथालाल थिङलाई मनहरी गाउँपालिका वडा ७ स्थित मनहरी बजारबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङको टोलीलाई बुझाइएको छ ।