राधा लुइटेल
फिदिम, पुस ६ गते । नेपाल पत्रकार महासङ्घले सञ्चार सम्बन्धि दुविधाको निराकरणसँगै कार्य सम्पादनमा सहजताका लागि सञ्चार ऐन बनाउन स्थानीय तहहरूसँग आग्रह गरेको छ । जिल्लाको कुम्मायक गाउँपालिका केन्द्र यासोकस्थित धार्मिक तथा पर्यटकीय स्थल कुम्मायकमा आयोजित घुम्ती बैठक पश्चात यासोक घोषणा पत्र जारी गर्दै महासङ्घले यस्तो आग्रह गरेको हो ।
घोषणा पत्रमा सञ्चार ऐन मार्फत स्थानीय सञ्चार गृहको प्रवलीकरण, पत्रकारको व्यवसायिक विकास,विज्ञापन वितरण र जवाफदेहि र जिम्मेबार पत्रकारिता सम्भव हुने उल्लेख छ । घोषणापत्र मार्फत पत्रकारहरूको भौतिक तथा पेसागत सुरक्षा प्रति विशेष ध्यान दिन, सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहार, दुरुत्साहन र समाचार लेखेकै आधारमा हुने लाञ्छनाको प्रवृत्ति रोक्न प्रभावकारी कदम चाल्न सरोकारवाला निकाय र स्थानीय प्रशासनको महासङ्घले ध्यानाकर्षण गराएको छ ।
यस्तै कुम्मायक–कुस्सायक लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारमार्फत पर्यटन प्रवर्धनका लागि स्पष्ट कार्यक्रम र पर्याप्त बजेट व्यवस्था गर्न तीनै तहका सरकारसँग माग गरिएको छ ।
जिल्लाका सुक्खाग्रस्त क्षेत्रको खानेपानी तथा अन्य आधारभूत पूर्वाधार अभाव समाधानका लागि विशेष प्याकेज ल्याई बढ्दो बसाइसराइ रोक्न र स्थानीय रोजगारी सिर्जनामा केन्द्रित नीति तथा कार्यक्रम आवश्यक रहेको पनि घोषणापत्रमा उल्लेख छ । सूचना प्रविधि र आम सञ्चारको तीव्र विकाससँगै आम नागरिकलाई तथ्य बुझ्न कठिन भइरहेको सन्दर्भमा राज्यका हरेक निकायमार्फत मिडिया साक्षरता कार्यक्रम सञ्चालन गर्नु पर्नेमा घोषणापत्रले जोड दिएको छ ।
साथै व्यावसायिक पत्रकारिता, क्षमता विकास, सामाजिक सुरक्षा, पत्रकार प्रोत्साहन तथा लेखन वृत्तीका कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।
घोषणापत्र मार्फत नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका पूर्व कोषाध्यक्ष तथा मिडिया उद्यमी कविन्द्र शेर्माको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै समस्यामा रहेका सम्पूर्ण पत्रकारको सहयोगका लागि सबै तहका सरकारसँग माग गरिएको छ । क्यान्सर पीडित शेर्मा हाल उपचारका क्रममा हुनु हुन्छ ।
महासङ्घले पूर्व अध्यक्ष, वहालवाला पदाधिकारी,पत्रकारका पेसागत सङ्गठनका प्रमूख र पदाधिकारीसँगै जिल्लामा कृयाशिल पत्रकारहरूले कुम्मायक गाउँपालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दै स्थानीय तथा ग्रामीण पत्रकारिताको विकासका लागि स्वरोजगारमूलक सञ्चार माध्यमको प्रवर्धन, सबलीकरण तथा त्यसका लागि बजेट विनियोजन गर्न समेत ऐन कोशे ढुङ्गा साबित हुने बताएका थिए ।
स्थानीय तह सम्वन्धित विकास, सुशाषन, भ्रष्टाचार र सामाजिक मुद्दालाई सञ्चार माध्यम मार्फत आम नागरिकसम्म पुर्याउन सहजताका लागि कृयाशिल पत्रकारहरूको उपस्थितिमा घुम्ती बैठक सुरु गरिएको महासङ्घ पाँचथर शाखाका सचिव रविन्द्र काफ्लेले बताउनु भयो ।
आगामी दिनमा जिल्लाका अन्य स्थानीय तहसम्म पुगेर यस्ता कार्यक्रम आयोजना गर्ने तयारी रहेको उहाँको भनाइ छ ।