• १७ वैशाख २०८२, बुधबार

थप एक लाख उन्नाइस हजार मेट्रिक टन मल ल्याइँँदै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ वैशाख १६ गते । आगामी धान बालीका लागि थप एक लाख १९ हजार मेट्रिक टन मल ल्याइने भएको छ । 

धान बालीलाई मलको अभाव हुन नदिन उक्त परिमाणमा मल आउने क्रममा रहेको जनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धान बालीका लागि मलको अभाव नहुने दाबी गरेको छ । धान बालीका लागि आवश्यक पर्ने थप ९४ हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डिएपी मल बाटोमा आउने क्रममा रहेको र जेठको दोस्रो सातासम्म आइपुग्ने मन्त्रालयले जनाएको छ । 

कृषि सामग्री कम्पनी लिमिटेडले ६४ हजार मेट्रिक टन युरिया, २५ हजार डिएपी र साल्ट्र ट्रेडिङ कर्पोरेसनले ३० हजार मेट्रिक टन युरिया ल्याउन लागेका छन् । उक्त मल वैशाखको तेस्रो सातादेखि जेठको दोस्रो साताभित्र भित्रिइसक्ने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख १४ सम्म दुई लाख ७६ हजार ७०५ मेट्रिक टन मल आयात भइरहेको छ । जसमा एक लाख ७१ हजार ८४७ मेट्रिक टन युरिया, ८९ हजार ५९२ मेट्रिक टन डिएपी र १५ हजार २६५ पोटास छ । ५७ हजार ९८७ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । 

चालु आवमा रासायनिक मल खरिद गर्नका लागि सरकारले २७ अर्ब ९५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । हालसम्म पाँच लाख ५० हजार मेट्रिक टन टेन्डर आह्वान भइसकेको मन्त्रालयले जनाएको छ । 

कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले मल आयात गर्ने गरेका छन् । सहकारी संस्थामार्फत किसानलाई मलको वितरण हुने गर्छ । नेपालमा मुख्य गरी बर्खे र हिउँदै बालीमा मलको प्रयोग गरिन्छ । 

धान बाली दुई सिजनमा लगाउने गरिन्छ । चालु आवमा चैते र बर्खे धानको उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक उत्पादन भएको छ । यस वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।मन्त्रालयका तथ्याङ्क अनुसार मुलुकभर नौ लाख हेक्टर क्षेत्रफलमा मकै खेती गरिने र जसबाट २९ लाख ८० हजार मेट्रिक टन उत्पादन हुने गर्छ  ।

यस्तै सात लाख हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिने र त्यसबाट २१ लाख मेट्रिक टन हाराहारीमा उत्पादन हुने तथ्याङ्क छ । मुलुकभर वार्षिक सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यक पर्ने बताएको छ । सरकारले बर्सेनि मल खरिदका लागि अनुदानको व्यवस्था गरे पनि माग अनुसार समयमा मल आयात नहुँदा धान रोप्ने बेला प्रत्येक वर्ष किसानले अभाव खेप्नु परेको छ ।