शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख १७ गते । शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि अभिभावकले नै विद्यालय खोलेर आफैँले पढाउन थालेका छन् । सिद्धिचरण नगरपालिका–३, ओखलढुङ्गाको नारायणस्थान माध्यमिक विद्यालयका अभिभावकले विद्यालय खोलेर पढाउन थालेका हुन् ।
लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ साथै भविष्य अन्योल भएको भन्दै अभिभावक मिलेर विद्यालय खोलेर पठनपाठन सुरु गरिएको अभिभावक अनित गुरुङले बताउनुभयो । शिक्षक साथै सरोकारवालालाई दबाब सिर्जना गर्न पनि यो अभियान सञ्चालन गरिएको बताइएको छ । कतिपय शिक्षकले आफ्ना बालबालिका निजी विद्यालयमा भर्ना गरिसकेका अभिभावकले आरोप लगाएका छन् । सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरी बोर्डिङ स्कुलमा भर्ना गरेर शिक्षक आन्दोलनको फाइदा उठाउँदै ढुक्कले घरमा बसिरहेको अभिभावक शिव बानियाँको आरोप छ । आन्दोलनको कारण देखाउँदै शिक्षक कर्मचारीले विद्यालय बन्द गरेपछि विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण साथै पढाइ सञ्चालन हुन सकेको छैन ।
जिल्लाको मोलुङ गाउँपालिकाले तत्काल विद्यालयमा पठनपाठन थाल्न शिक्षकलाई निर्देशन दिएको छ । आन्दोलनका नाममा विद्यार्थीको हालसम्म नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु नहुँदा बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार हनन भएकाले पढाइ सुरु गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष उत्तम राईले बताउनुभयो । सामुदायिक विद्यालयको साझा शैक्षिक कार्यपात्रोको पूर्ण कार्यान्वयन गरी सोही अनुसार नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेर शिक्षकलाई विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले गत वैशाख १२ गते शुक्रबारबाट नियमित पठनपाठन सुरु गर्न शिक्षक, विद्यालय र सरोकारवालालाई निर्देशन दिएको भए पनि हालसम्म गाउँपालिकाका कुनै पनि सामुदायिक विद्यालय खुलेका छैनन् । आन्दोलनमा काठमाडौँ नगएका शिक्षक कर्मचारी घरधन्दामा व्यस्त छन् ।
विद्यार्थीलाई साहित्यिक पुस्तक
पुतलीबजार समाचारदाता हरिप्रसाद सुवेदीका अनुसार चैत २० गतेदेखि देशभरका सामुदायिक विद्यालयमा नियमित कक्षा सञ्चालन हुन नसकेपछि फुर्सदिलो बनेका विद्यार्थीलाई लक्षित गर्दै स्याङ्जामा साहित्यिक पुस्तक वितरण गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्लाका तीन स्थानीय तहका एक सय विद्यार्थीलाई कथा, कविता र उपन्यासका पुस्तक वितरण गरेको हो ।