साहारा लिम्बू
फुङ्लिङ, बैशाख १६ गते । चौँरी प्रवर्द्धनका लागि ताप्लेजुङमा आयोजना गरिएको चौँरी प्रतियोगिताको उपाधि राजेश गुरुङले हात पार्नुभएको छ । सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित प्रतियोगितामा स्थानीय कृषक गुरुङले पाल्नु भएको ‘मिक्टा’ नामक चौँरी उत्कृष्ट ठहर गरी उपाधि प्रदान गरिएको हो ।
विश्वको तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कञ्चनजङ्घाको प्रचार प्रसारका लागि आयोजित ३ दिने सिरीजङ्घा पर्यटन महोत्सवमा १७ जना कृषकमध्ये गुरुङको चौँरी उत्कृष्ट भएको पर्यटन महोत्सवका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार माबोले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा दावा शेर्पाले पाल्नु भएको ‘पागे’, मिलन अधिकारीले पाल्नु भएको ‘ग्याङसा’ नामक चौँरी तेश्रो भएको छ ।
प्रतिष्पर्धामा सहभागी गराइएको चौँरीको शरीरको मोटाइ, सिङ, पुच्छर, आनीबानीलगायतका विधिमार्फत उत्कृष्ट चौँरी छनोट गरिएको गाउँपालिकाले बताएको छ । पालिकाका अनुसार घट्दोक्रममा रहेको चौँरी पेशालाई संरक्षण गर्न प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा उत्कृष्ट कृषक बन्नु भएका गुरुङलाई २८ हजार पाँचसय ८६ रुपियाँ र दोश्रो, तेश्रो बन्ने कृषकलाई समान आठ हजार पाँचसय ८६ रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको संयोजक माबोले बताउनुभयो ।
कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामको प्रमुख आतिथ्यतामा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको अवलोकनपछि मन्त्री हाङगामले चौँरी प्रवर्द्धनका लागि प्रदेश सरकारमार्फत उचित बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभयो ।
पालिकाले आयोजना गरेको प्रतियोगिताबाट चौँरी पालक कृषकहरू थप पेशाप्रति आकर्षित भएको उनीहरूको भनाइ छ । आफ्नो पेशाप्रति स्थानीय सरकारको समेत चासो बढेकाले कृषकले राहत महसुस गरेको कृषकले बताएका छन् ।