• १६ असार २०८१, आइतबार

अपाङ्गता भएका युवाको क्षमता अभिवृद्धि तालिम

blog

काठमाडौं जेठ २५ गते ।  “देशको उर्वर भूमिलाई जोगाँऔं अपाङ्गता भएका युवाहरुलाई अर्गानिक तरकारी खेती र कुखुरा पालनबाट आत्मनिर्भर बनाऔं”भन्ने सन्देशसाथ रोटरी क्लब अफ पाटन, सक्षमता विकास समाज नेपाल, द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेल र शिजन अर्गानिक प्रालिले संयुक्त रुपमा सञ्चालनमा ल्याएको समावेशी तरकारी खेती र कुखुरा पालनसम्बन्धी “आधुनिक कृषिका माध्यमबाट अपाङ्गता युवाको क्षमता अभिवृद्धि तालिम”को सुरू भएको छ । 



तालिमको सफलताको शुभकामना दिँदै कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ पाटनका अध्यक्ष महेन्द्र बहादुर थापाले देश कृषिमा आत्मनिर्भर रहेको भन्ने आधारहरु विस्तारै गुम्दै गएको बताउनु भयो । उहाँले कृषि उद्यमलाई आवश्यक उमेरका युवालाई विदेश लखेटेर रमाएको देशमा अपाङ्गता भएका व्यक्तिहरूले कृषिमा आफ्नो उद्यमशीलता देख्नु आफैमा सराहनीय कार्य रहेको बताउनु भयो । उहाँले यस तालिमलाई अपनत्व लिँदै प्रशिक्षार्थीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक परेका सबै कार्यहरुमा योगदान दिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । 

द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेनका अध्यक्ष रोर्बट रोजले पराम्परागत कृषि अपाङ्गता भएकाहरुका व्यक्तिहरूका लागि अनुकूल नभएकै कारण आममानिसहरुले अपाङ्गता भएका व्यक्तिहरुले कृषि उद्यम गर्न सक्छन् र भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै आधुनिक कृषिले पहुँचयुक्तताको अनुकूलतालाई पनि ध्यानमा राखी सबैका लागि कृषि उद्यममा काम गर्न सम्भव हुने विश्वास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यही भएकाले आज नयाँ आशाका साथ कृषि व्यवसायका माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यमशील बनाउने महान् अभियानमा लागि रहेका छौ । अबका दिनहरुमा आम समाजले अपाङ्गता भएका व्यक्तिहरुको विविधता र सक्षमतालाई स्विकार गरी समावेशी मूलक उद्यम उन्मुख समाजतर्फ केन्द्रित हुने विश्वास गरेको छ ।“

सक्षमता विकास समाजका अध्यक्ष रविन्द्र राज पाण्डेले तालिम माछा नभइ माछा मार्ने जाली भएको बताउँदै तालिमको सिप उपयोग गरेर सफल बन्न सुझाव दिनुभयो । उहाँले तालिम लिनु आफैमा ठूलो विषय नभए पनि तालिममा सिकेको सीप, ज्ञान र दक्षतालाई आगामि दिनमा लागू गर्न सक्छ भन्ने विषय चाहिँ संवेदनशील हुन्छ भन्नुभयो । यस तालिम केन्द्रबाट तालिम लिएर गएकामा कृषिप्रति बढेको रुचि र आगामी दिनमा यसैलाई आफ्नो उद्यमका रुपमा विकास गर्दै भविष्य सुनिश्चित गर्ने निर्णय गर्नु भएका पूर्व विद्यार्थीहरुलाई सफलताको शुभकामना दिँदै उहाँले कृषि उद्यम सञ्चालन चुनौतीपूर्ण रहेको अवस्थामा पालिका, वडा कार्यालयमा, कृषि सहकारीहरु र न्यून व्याजदरमा कृषिमा लगानि गरिरहेका बैंकहरुमा पुग्न नहिचकिचाउन समेत अपिल गर्नुभयो । 


यो तालिम जेठ १५ गते देखि सञ्चालनमा आएको अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धिका लागि अर्गानिक तरकारी र पोल्ट्री व्यवसायसम्बन्धी तालिमको शृङ्खला हो । तालिमको कार्यान्वयन साझेदार संस्था सिजन अर्गानिक प्रा.लि रहेको छ । यस कार्यका लागि सक्षमता विकास समाज, द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन र रोटरी क्लबले आवश्यक  आर्थिक र व्यवसायिक क्षमता अभिवृद्धिमा सहयोग गरेका छन् । 

तालिममा CTEVT को एक वर्षे पाठ्यक्रमलाई तीन महिना अवधिमा छोट्याइएको छ । साथै आठ जनासम्मको आवासीय क्षमता रहेको तालिम केन्द्रमा हाल सात जनाले तालिम लिइरहनु भएको छ । 

पहिलो व्याचमा सबै सुस्त श्रवण विद्यार्थीहरु भर्ना भएकोमा यस पटक भने शारीरिक, न्यून दृष्टि, सुस्त श्रवण भएका व्यक्तिहरू समावेशी रुपमा सहभागी हुनुभएको छ । सहभागी प्रशिक्षार्थीहरुले हप्तामा दुइदिन आधारभूत कृषि सैद्धान्तिक ज्ञान र बाँकी चार दिन सैद्धान्तिक कक्षाहरुबाट सिकेका ज्ञानहरुलाई  प्राविधिक सहयोगीका साथमा व्यवहारिक कार्यहरु गर्दै सिकिरहनु भएको छ ।