• १३ वैशाख २०८२, शनिबार

क्रिकेट प्रशिक्षक स्टुआर्ट उत्साहित

blog

प्रशिक्षक स्टुआर्ट ल । तस्बिर : क्यान

काठमाडौँ, वैशाख १३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुआर्ट ल नेपाल आउनासाथ उत्साहित देखिनुभएको छ ।

शुक्रबार राति नेपाल आइपुग्नुभएका प्रशिक्षक स्टुआर्टले शनिबार बिहान सञ्चारकर्मी र नेपाली क्रिकेट खेलाडीसँगसमेत साक्षत्कार गर्नुभयो । मुलपानी क्रिकेट मैदानमा सञ्चार कर्मीसँग कुरा गर्दै स्टुआर्टले नेपालको प्रतिभावान खेलाडी, उनीहरुको चाहना र प्यासन देखेर आफु नेपाल आउन उत्साहित भएको बताउनुभयो ।

‘‘नेपाली क्रिकेटले प्रगति गरिरहेको थाहा थियो । यहाँ प्रतिभावान खेलाडी छन् । खेलाडीको चाहना र प्यासन बेजोड रहेको छ । म नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै खुशी छु । नेपाली क्रिकेटलाई थप माथि लैजान चुनौती पनि उत्तिकै देखेको छु । तर चुनैतीको सामना गर्नका लागि आएको हुँ,’’ स्टुआर्टले भन्नुभयो ।


स्टुआर्टले शनिबार देखिनै नेपाली क्रिकेट टोलीको प्रशिक्षण क्याम्ससमेत सुरु गर्नुभएको छ । स्टुआर्टले नेपाली क्रिकेटलाई विश्वकपसम्म लग्न र एकदिवसीय मान्यतामामा टिकाउन आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले प्रशिक्षकलाई तत्काल कुनै वोझ दिनुभन्दा विस्तारै टिमको बारेमा बुझेर एकदिवसीय मान्यतामा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

विस्तारै जग बसाल्दै गयो भने नतिजा परको कुरा नहुने खड्काको भनाई थियो । क्यानले विश्वकप लिग–२ सिरिजको तयारीका लागि ‘कोर क्याम्प’ समेत सञ्चालन गरेको छ । क्याम्पमा ५२ जना खेलाडी समावेश छन् । 


स्टुआर्टको प्रशिक्षणमा नेपाली टोलीले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी विश्वकप लिग–२ सिरिजको तयारी सुरु गरेको हो । क्यानले प्रशिक्षकका लागि आवेदन दिएका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो । जसबाट अन्तिममा स्टुआर्ट छनोट हुनुभएको थियो । क्यानले अस्ट्रेलियाका स्टुआर्टलाई दुई वर्षका लागि चैत १६ गते नियुक्त गरेको थियो ।


स्टुआर्टले यसअघि श्रीलङ्कका, बङ्गलादेश, वेस्ट इन्डिज, अफगानिस्तान, बङ्गलालदेश यु–१९ र अमेरिकाको प्रशिक्षण सम्हालिसक्नुभएको छ । अस्ट्रेलिया सन् १९९६ को विश्वकपमा उपविजेता बन्दा उहाँ टोलीका महत्त्वपूर्ण खेलाडी हुनुहुन्थ्यो ।