• १० वैशाख २०८२, बुधबार

गुराँसबारे जानौँ

blog

वसन्त ऋतु लागेपछि नेपालको मध्य पहाड, उच्च पहाड तथा मध्य हिमाली क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको देख्न सकिन्छ ।

नेपालमा हजारौँ प्रकारका वनस्पति पाइन्छन्  । सन् १९७०–८० ताका नेपालमा गरिएको वनस्पतिसम्बन्धी अध्ययन अनुसार पाँच हजार ६७ प्रजातिका वनस्पति यहाँ पाइने थाहा भयो । त्यसरी नेपालमा पाइएका वनस्पतिमध्ये नेपालको रैथाने र लोकप्रिय वनस्पति चाहिँ ‘लालीगुराँस’ लाई मानिएको थियो ।

लालीगुराँसको वैज्ञानिक नाम ‘रोडोडेन्ड्रोन आर्बोरियम हो । त्यस्तै लालीगुराँस वनस्पति जगत्को एरिकल्स ‘वंश–परिवार–वर्ग–गण’ मा पर्छ । गुराँस वा लालीगुराँसलाई आठ उपवर्गमा विभाजन गरेका छन् वैज्ञानिकले । ग्रिक भाषामा ‘रोडोन’ को अर्थ ‘गुलाब’ र ‘डेन्डन’ को अर्थ ‘रुख’ हुन्छ । हुन पनि गुराँसको बोट रुखको जस्तो र फूल चाहिँ ‘गुलाब’ को जस्तो हुने भएकाले यसलाई अङ्ग्रेजीमा ‘रोडोडेन्ड्रोन’ भनिएको विश्वास गर्न सकिन्छ ।

गुराँसका विभिन्न प्रजाति नेपालको भूगोलमा ११–१२ सय मिटर उचाइदेखि ३४–३५ सय मिटर उचाइसम्म पाइन्छन् ।

हामी सबैलाई थाहा छ लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । जानकारी अनुसार भारतको उत्तरखण्ड प्रदेशले पनि लालीगुराँसलाई प्रदेशको फूल मानेको छ । मध्यम पहाड, उच्च पहाडदेखि मध्यम हिमाली भेगसम्म पाइने अनेकौँ प्रकारका गुराँस पहिले पहिले सामान्यतया चैत–वैशाखमा फुल्ने गर्थे तर जलवायु परिवर्तनका कारण कतैकतै त पुस महिनातिरै गुराँसका केही प्रजाति फुल्न थालेको भेटिन्छ ।

कहाँ पाइन्छ ?

विश्वमा कुन कुन देशमा गुराँसका कुन कुन प्रजाति पाइन्छ भन्दाखेरि नेपालबाहेक चीन, भारत, भुटान, म्यान्मार, उत्तर कोरिया, दक्षिण कोरिया, मलेसिया, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया, जापानमा प्राकृतिक रूपमै गुराँस पाइन्छ भने बेलायतलगायत केही देशले गुराँस रोपेका छन् । 

कति प्रकारका गुराँस रहेका छन् ?

अहिलेसम्म विभिन्न देशमा एक हजार १५७ प्रकारका गुराँस पाइएको छ । नेपाल सरकारमातहत रहेको वनस्पति विभागका अनुसार नेपालमा हालसम्म ३१ प्रजातिका गुराँस फेला परेका छन् । हाम्रा लागि खुसीको कुरा के छ भने नेपालको कुल वन क्षेत्रको लगभग १० प्रतिशतमा गुराँस प्रजातिका वन पाइन्छन् । 

नेपालको पूर्वी भेगदेखि पश्चिम भेगसम्मै गुराँसका विभिन्न प्रजाति पाइने गरेको छ । त्यसो भए पनि नेपालको पूर्वी क्षेत्रमा बढी प्रजातिका गुराँस पाइएका छन् । वनस्पति विभागका अनुसार नेपालको ४३ जिल्लामा गुराँस पाइन्छ । हावापानी र ठाउँ अनुसार गुराँसका बोट होचा–अग्ला हुने गर्छन् ।   

 –युवामञ्च   

Author

निनाम लोवात्ती