• १० वैशाख २०८२, बुधबार

सिस्नु चिलाएर मनाइने पर्व “बिसु”

blog

सुदूरपश्चिम प्रदेश भाषा, साहित्य, कला, संस्कृति र वेशभूषामा धनी छ । नौ जिल्लामा बाँडिएको यस प्रदेशको अछाम, बाजुरा, बझाङ र कैलालीलगायतका जिल्लामा नयाँ वर्ष फरक ढङ्गले मनाउने परम्परा रहेको छ ।

‘नयाँ वर्षको पहिलो दिन सिस्नो चिलाउनैपर्ने ।’ झट्ट सुन्दा अनौठो लाग्ने यो परम्पराको जग बिसु पर्व हो । हरेक वर्षको पहिलो दिन बिसु पर्व सुरु हुन्छ । यस दिन युवकयुवती एकआपसमा सिस्नो चिलाएर नयाँ वर्ष मनाउने र बिसु पर्वमा रमाउने गर्छन् ।

सिस्नोको नाम सुन्नेबित्तिकै आङ सिरिङ्ग हुन्छ । कारण के हो भने सिस्नोले शरीरमा फोका उठ्ने गरी पोल्छ । सिस्नोको बोटबाट जो कोही टाढा रहन चाहन्छन् । 

बिसु पर्वको दिन सिस्नोको निकै महत्व हुन्छ । प्रत्येक नयाँ वर्षमा सिस्नो चिलाएर यसको सुरुवात गर्ने गरिन्छ । सिस्नो सामान्य झारपात भए पनि यसलाई प्रकृतिको उपहारका रूपमा लिइन्छ ।

साथी–सङ्गी, देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाबिच एकापसमा सिस्नोपानी छ्याप्ने तथा सिस्नो चिलाएर बिसु पर्व मनाउने र रमाइलो गर्ने परम्परा छ ।

देवर, नन्द, भाउजू, भिनाजु वा साली कोही पनि नहुनेहरूले स्वयंलाई भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहेको संस्कृतिका जानकार एवं देउडा गायक यज्ञराज उपाध्यायको भनाइ छ ।

नयाँ वर्षमा शहरको जस्तो शुभकामना आदानप्रदान, नाचगान तथा विविधि मनोरञ्जनका कार्यक्रम गरिँदैनन् । बरु सिस्नोको बोट नै हातहातमा समातेर एकले अर्कोलाई चिलाउने प्रतिस्पर्धा नै चल्छ ।

हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियालीमा पौराणिककालदेखि नै बिसु पर्व मनाउने गरिएको छ । पृथ्वीले सूर्यको एक परिक्रमा वैशाख १ गते पूरा गर्ने मान्यता पनि यस पर्वसँग जोडिएको छ ।

वैशाख १ गते बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन सुदूरपश्चिमका गाउँघरमा ताजै छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा लागेका कुनै पनि रोगव्याधि वा विकराल तìवबाट मुक्त भइन्छ भन्ने जनविश्वास रहेको छ ।

नयाँ वर्षमा सिस्नो चिलाउँदा त्यस वर्षभरि जुनसुकै विषालु जीवजन्तु वा अन्य समस्याबाट जोगिइन्छ भन्ने मान्यता समेत रहिआएको छ । सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने विश्वास पनि छ । सिस्नोमा हुने ससाना काँडा वा रौँ जस्ता झुसमा ‘फर्मिक अम्ल’ हुने भएकाले त्यसले पोल्ने र फोका उठ्ने गर्छ । सिस्नोमा रहेको हिस्टामाइनले गर्दा शरीर सुन्निने गर्छ ।

युवाको बढ्दो विदेश पलायन र तराईमा बसाइँसराइका कारण पहाडी गाउँबस्तीमा बिसु पर्वमा सिस्नो लगाउने चलन कम हुँदै गरेको देखिन्छ ।

बिसु पर्वको दिन विभिन्न समुदायका युवाले लौरो नचाउने, बिस लौरा खेल्ने, बाघ–भालु जस्ता जङ्गली जनावरको अभिनय गर्ने र देउडा नाच्ने चलन पनि छ । ८÷१० वर्ष उमेरका छोरी चेलीलाई पुतला/पुतली (दुलहा /दुलही) बनाई नक्कली बिहेको रमाइलो पनि गरिन्छ ।

नयाँ वर्षका दिन जङ्गल गएर बिसु लौरो (काँजी जातको बिरुवाको हाँगाको केही बोक्रा निकाल्ने र केही त्यसैमा राखी आगोमा पोलेर कालो बनाई लौरोमा कालो र सेतो रङ पोते जस्तो देखिने) बनाउने चलन छ । बेलुकीपख गाउँबस्तीका सबै पुरुष एक ठाउँमा जम्मा भएर एक जनालाई बिसु बाघ बनाई काठको फ्ल्याकमा राखेर बोक्ने अनि लखेट्ने प्रचलन पनि रहेको छ ।

दिनभर लगाएर बनाइएका बिसु लौरा बेलुकीपख बिसु बाघ धपाउन प्रयोग गरिन्छन् । यस प्रदेशका नौ वटा जिल्लामध्ये सातवटै पहाडी जिल्लामा बिसु पर्व मनाउने गरिन्छ । बिसु पर्व मनाउने चलन फरक फरक भए पनि सिस्नो चिलाउनु अनिवार्य नै हुन्छ ।

बिसु पर्व आउनुपूर्व प्रायः सबैले घरआँगन रातो माटो र कमेरो माटोले लिपपोत गरेर चिटिक्क पार्छन् । रातो माटो र कमेरो माटोले घर लिपपोत गर्नुलाई ‘घर छिप्नु’ भन्ने गरिन्छ । यो कार्यमा महिला बढी सक्रिय हुन्छन् ।

बिसुमा घरआँगन लिपपोत, बडारकुँडार गरी चिटिक्क पार्दा वर्षभरि सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

कामको खोजीमा भारत पसेकाहरू समेत यो पर्व मनाउन गाउँघर फर्किने गर्छन् । बिसु पर्व सुरु भएसँगै गहुँबाली भित्र्याउने, मकै र धानबाली लगाउने समय पनि भएकाले परदेशमा रहेकाहरू घर फर्किने गर्छन् ।

बिसु पर्वमा खानाका विभिन्न परिकार खाने र सिस्नो लगाउने प्रचलन परम्पराकालदेखि चलिआएको भनाइ स्थानीय बुढापाकाको छ ।

बिसुमा पुतला

‘आउँदो वर्ष चाँडै आया, रनै पुतए’

पुतला खेल्न पर्यो, आओ आओ सँगीसाथी, रनै पुतए.....’


विशेष गरी अछाम र बाजुरामा खेलिने पुतला खेलमा गाइने माथि उल्लेखित गीतको सानो अंश हो । चैतको अन्तिम सातादेखि वैशाख पहिलो साताभित्र शुद्ध मानिने सात दिनसम्म यहाँ परम्परागत भेषमा स्थानीय महिलाले समूहमा गीत गाएर पुतला खेल्ने गर्छन् ।

वसन्त ऋतुको आगमनमा खेलिने पुतला खेल यस क्षेत्रको धार्मिक, मौलिक, सामाजिक र सांस्कृतिक परम्परा पनि हो भन्न सकिन्छ । कुनै बेला अछामी राजाको पुतली नाम गरेकी छोरीको तराईमा बिहे भएको र उनको सर्पले टोकेर मृत्यु भएको सम्झनामा पुतला खेल सुरु भएको किंवदन्ती रहेको छ ।

नमुना बेहुली (पुतला) बनाएर चामलको डालोमाथि राखेर यो खेल सुरु गरिने प्रचलन रहेको मेल्लेख–५ का स्थानीय काशीराम रोकाया बताउँछन् । उनका अनुसार खेल विसर्जन (समापन) हुनुभन्दा एक दिनअघि बेहुलाको समेत प्रतिमा बनाएर बिहे गरिन्छ ।

त्यस दिन बेहुलीलाई डोलामा र बेहुलालाई काँधमा बोक्ने गरिन्छ । बिहान र बेलुका हुने यो खेल अन्तिम दिन भने दिउँसो मात्र खेलिन्छ । विभिन्न रङको  फरिया, रातो चौबन्दीमा सजिएका महिलाले सेतो पटुकाको फेरो हातमा समाएर चउर (पटाङ्गिनी) मा गोलाकार भएर यो खेल खेल्छन् । 

महिलाले मात्र खेल्ने पुतला खेल उत्सवमा हरेक उमेरका महिलाको सहभागिता रहने गर्छ । गोलाकार बनाएर दुई समूहमा बाँधिएका महिलामध्ये आधीले एक भाकामा गीत गाउँछन् भने बाँकीले त्यसको प्रत्युत्तरमा गीत गाउँछन् । 

पुतला गीतमा विभिन्न देवीदेवताको नाम लिइन्छ । विशेष गरी कालिका, पार्वती र स्थानीय देवीदेवताको नाम पुकारेर गीत गाउने गरिएको स्थानीय लोक संस्कृतिकर्मी रोकाया बताउँछन् । अन्तिम दिन रातिको समयमा उक्त पुतलालाई नजिकै रहेको पवित्र पानीको मुहानमा लगेर विसर्जन गरिन्छ ।

रामारोशन–५ का वडाध्यक्ष केशरबहादुर शाहको भनाइमा चैत तथा वैशाखको सुक्खा मौसममा यो खेलले स्थानीयमा नयाँ जोश र उमङ्ग थप्ने गर्छ । पुतला खेलमा छोरीचेलीको वेदना, दुःख सुख, रमाइलो पक्ष समेटिएका हुन्छन् । 

नाचको अन्तिम दिन अर्थात् पुतला सेलाउने दिन आउँदो वर्ष चाँडै आया, हाम्री खेल्ने पुतली ओ रनै पुतए ।’ भन्दै गीत गाइन्छ । यस्तै गीतका साथ पुतला विसर्जन गरिन्छ । 

पुतला सुदूरपश्चिमका विभिन्न जिल्लामा आआफ्नै तरिकाले खेल्ने गरिन्छ । डोटी, बझाङ र बैतडीको पूर्वी भेक, बाजुरालगायत कर्णालीका जुम्ला, कालीकोट र हुम्लामा समेत यो खेल खेलिन्छ । 

पुतला विसर्जन गरे पनि कलात्मक बिस लौरोलाई भने घरमै राखिन्छ । यसलाई कृषि प्रयोजनमा प्रयोग गरिन्छ । रन–पुतलालाई विशेष गरी बिहे नभएका महिलाले पूजा गर्ने चलन छ । 

भौगोलिक विकटता भए पनि सुदूरपश्चिम संस्कृतिका हिसाबले निकै धनी छ । देउडा, ठाडीभाका, हुड्केली, छलिया, भुवा, गौरा, पुतला, बिसुलगायत मौलिक नाच, गीत र पर्व यो क्षेत्रका महत्वपूर्ण पहिचान हुन् ।

छोरीचेली बिसु पर्व अर्थात् पुतला मनाउनका लागि माइतीघर फर्किने भएकाले पनि यसलाई आमाछोरी भेट तथा छोरी हप्ता दिनसम्म निर्धक्कले माइतीघर बस्ने अवसरका रूपमा पनि लिने गरिन्छ । पुतलामा रमाउँदा छोरीले घरमा बेहोरेका दुःखपीडा तथा माइतीघरमा विवाह नभएका युवतीले बेहोरेका पीडाका बारेमा बनाइएका गीत गाउने गरिन्छ ।  

 –युवामञ्च  

Author

शिवराज खत्री