• ६ वैशाख २०८२, शनिबार

खरानी बनेको जडीबुटी नेतृत्वविहीन

blog

काठमाडौँ, वैशाख ६ गते । आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड अहिले नेतृत्वविहीन बनेको छ । 

महाप्रबन्धक सङ्गीता यादवको तीनबर्से कार्य अवधि समाप्त भएपछि चैत २४ गतेदेखि सो कम्पनी नेतृत्वविहीन बन्न पुगेको हो । खरानी टकटकाउँदै उठ्ने जमर्कोमा रहेको सो कम्पनी नेतृत्वविहीन बन्न पुग्दा कम्पनीलाई पुनः सञ्चालन गर्ने प्रक्रियासमेत प्रभावित बनेको छ । राजावादी भनिएका प्रदर्शनकारीले चैत १५ गते आगजनी गर्दा सो केन्द्र क्षतिग्रस्त भएको थियो । आगजनीपछि केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रशासन प्रमुख धर्म नेपालले आगजनीबाट क्षतिग्रस्त भएको कम्पनीलाई पुनः सञ्चालनका लागि नीतिगत निर्णय गर्नुपर्ने अवस्थामा कार्यकारी प्रमुख नहुँदा काम अगाडि बढ्न नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “कम्पनीको कार्यकारी प्रमुख नहुँदा आगजनीबाट धेरै उपकरण क्षतिग्रस्त भइसकेकाले नयाँ उपकरण खरिद प्रव्रिmया अगाडि बढाउने, उत्पादनका लागि कच्चा पदार्थ 

खरिदका लागि बोलपत्र आह्वान गर्नेलगायतका काम अगाडि बढ्न सकेको छैन ।” त्यसै गरी कम्पनीको दैनिक प्रशासनिकलगायतका कामसमेत प्रभावित बन्न पुगेको प्रशासन प्रमुख नेपालको 

भनाइ छ । कार्यकारी प्रमुख आउन जति ढिलो हुन्छ त्यति नै ढिलो कम्पनीलाई पुनः सञ्चालनमा ल्याउन हुने प्रशासन प्रमुख नेपालले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “तत्कालीन र दीर्घकालीन योजना बनाएर यस कम्पनीलाई पहिलेकै अवस्थामा फर्काउनु पर्छ । यसका लागि यथाशीघ्र कम्पनीको कार्यकारी प्रमुख आवश्यक पर्छ । मन्त्रालयले जति  सक्यो छिटो कार्यकारी प्रमुख पठाइदिनु पर्छ ।” कम्पनीको निमित्त महाप्रबन्धक तोकिए पनि निमित्तको भरमा नीतिगत तथा बोलपत्रलगायतका दीर्घकालीन असरका काम अगाडि बढ्न नसक्ने उहाँले बताउनुभयो । अहिले कम्पनीको निमित्त महाप्रबन्धकको जिम्मेवारी कम्पनीमै कार्यरत उषा रिजाललाई दिइएको छ ।

मन्त्रालयलाई पत्राचार

कम्पनीको कार्यकारी प्रमुख पठाउनका लागि वन तथा वातावरण मन्त्रालयमा पत्राचार गरिए पनि अहिलेसम्म कुनै प्रतिव्रिmया नआएको प्रशासन प्रमुख नेपालले जानकारी दिनुभयो । कम्पनीले कार्यकारी प्रमुखका लागि मन्त्रालयलाई चैत २५ गते पत्राचार गरेको थियो । यो कम्पनी वन तथा वातावरण मन्त्रालयमातहत सञ्चालन हुँदै आएको छ । उहाँले भन्नुभयो, “हामीले मन्त्रालयमा कार्यकारी प्रमुख छिटो पठाइदिनु भनेर पत्राचार गरेका छौँ । कार्यकारी प्रमुख नियुक्ति गर्ने सम्पूर्ण अधिकार मन्त्रालयमै निहित छ । कम्पनीको भूमिका केही पनि हुँदैन । मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्ति गर्नेुपर्ने प्रावधान छ ।”

वन तथा वातावरण मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार वाग्लेले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यकारी महाप्रबन्धक नियुक्तिका लागि मन्त्रालयले बनाएको कार्यविधि अनुसार प्रव्रिmया अगाडि बढाएको जानकारी दिनुभयो । खुला प्रतियोगिताबाट चयन गरिने सो पदका लागि मन्त्रालयले छिट्टै नै सूचना जारी गर्ने बताउँदै उहाँले करिब डेढ महिनाभित्र कार्यकारी प्रमुख चयन भइसक्ने जानकारी दिनुभयो ।

आगजनीपछि कम्पनीको स्थलगत निरीक्षणमा पुग्नुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कम्पनी छिटोभन्दा छिटो सञ्चालनका लागि मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिनुभएको थियो । उहाँले भन्नुभयो, “मन्त्रालयले प्राविधिक र विज्ञसँग छलफल गरिरहेको छ । अस्थायी रूपमा सञ्चालन गर्न करिब १० करोड रुपियाँ आवश्यक देखिएको छ । यसबारे मन्त्रीपरिषद्को बैठकमा समेत छलफल भइसकेको छ । चाँडै रकम उपलब्ध हुन्छ ।” उहाँले यो कम्पनी सञ्चालनबारे मन्त्रीपरिषद्ले चाँडै नै निर्णय गर्ने बताउनुभएको थियो ।

यसको क्षतिको प्रारम्भिक मूल्याङ्कनबाट करिब २८ करोड रुपियाँ बराबरको क्षति भएको बताउँदै मन्त्री ठकुरीले अस्थायी रूपमा सञ्चालनका लागि रकम उपलब्ध गराउन मन्त्रालय प्रव्रिmयागत रूपमा अगाडि बढिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सहरी मन्त्रालय अन्तर्गतका निकायबाट यसको क्षतिको विस्तृत विवरण सङ्कलन तथा मूल्याङ्कनको काम सुरु भइसकेको छ । उहाँले भन्नुभयो, “आगजनी भएको भोलिपल्टदेखि नै आफूलाई बेरोजगार भएको महसुस गर्नुभएका करार, ज्यालादारीलगायत विभिन्न सेवा सर्तमा कार्यरत कर्मचारीलाई निरन्तर रूपमा जोड्नका लागि केही दिनभित्रै आवश्यक प्रक्रिया पूरा गरेर कम्पनी सञ्चालन गर्छौं ।” 

आगजनीले कम्पनीको दुई भवन र १३ वटा सवारीसाधन, उपकरण, भौतिक संरचना, उत्पादित सामान जलेर करिब २८ करोड रुपियाँ बराबरको क्षति भएको सो कम्पनीले जनाएको छ ।