• ६ वैशाख २०८२, शनिबार

द्वन्द्वले भरिपूर्ण ‘पीताम्बर’

blog

काठमाडौँ, वैशाख ५ गते । पहिलो निर्देशकीय चलचित्र ‘ऐँचो पैँचो’ बाट चर्चामा आउनुभएकी निर्देशक कृषा चौलागाईं यतिबेला चलचित्र ‘पीताम्बर’ मार्फत पुनः चर्चामा आउनुभएको छ । पहिलो चलचित्रमा उहाँले राजनीतिले समाजमा पारेको प्रभावलाई कथावस्तु बनाउनुभएको थियो भने ‘पीताम्बर’ मा भने केही फरक शैली अपनाउनुभएको छ । निर्देशक चौलागाईंले चलचित्रमा द्वन्द्वको भरपूर प्रयोग गर्नुभएको छ । आमाको मृत्यपछि छोराको मनमा उब्जने बदलाको भावनाको कथा हो ‘पीताम्बर’ । द्वन्द्व र ‘ड्रामा’ रुचाउने दर्शकका लागि चलचित्र मनोरञ्जनको खुराक बन्न सक्छ । हत्या, हिंसा, तस्करी, अपराधदेखि भ्रष्ट नेता, प्रहरी र गुन्डाराजको अन्त्य कसरी हुन्छ ? भन्ने कुरा पनि चलचित्रको मुख्य विषय हो । 

परासीमा धनञ्जय राजपुत (प्रमोद अग्रहरी) को गुन्डाराज छ । जहाँ उसले जे चाह्यो त्यही हुन्छ । यता परासीमै दुर्गा (सुरक्षा पन्त) अनेकन बाधाअड्चन झेलेर छोरासँग चिया पसल चलाएर बसेकी हुन्छिन् । दुर्गाको त्यो सामान्य दैनिकीमा जव धनञ्जयको आँखा पर्छ, त्यसपछि छोरामा देखिएको बदलाको भाव नै ‘पीताम्बर’ को कथा हो । आमाको मृत्युपछि ‘पीताम्बर’ (प्रदीप खड्का) ले न्यायका लागि गरेको सङ्र्घष नै चलचित्रको कथासार हो । दुर्गाको जीवनमा राजनीतिदेखि सामाजिक पीडा आउँछन् । त्यही पीडाको अन्तरकलह नै चलचित्रको कथा हो । 

मल्टिस्टारर चलचित्रमा निर्देशक चौलागाईंले निर्देशनको पाटोमा कुनै कमी आउन दिनुभएकी छैन । चाहे त्यो द्वन्द्वमा होस् या रोनाधोनामा । निर्देशकीय पाटोबाट उहाँको काम तारिफयोग्य देखिन्छ । प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवादलाई उहाँले भरपूर प्रयोग गर्नुभएको छ । चलचित्रमा प्रदीप खड्कालाई फरक रूपमा हेर्न चाहने दर्शकको चाहनालाई पीताम्बरले पूरा गरेको छ । प्रायः चकलेटी तथा प्रेमीको भूमिकामा देखिने प्रदीपलाई ‘एक्सन हिरो’ का रूपमा देखेपछि प्रदीपको अभिनयलाई दर्शकले पत्याउनै गाह्रो मान्छन् । त्यस्तै सधैँ भिन्न चरित्र गर्न रुचाउने कलाकार प्रमोद अग्रहरीले गर्नुभएको ‘धनञ्जय राजपुत’ को भूमिका उहाँलाई नै बनाएको जस्तो देखिन्छ । निर्देशक चौलागाईंले उहाँलाई डरलाग्दो रूपमा स्थापित गर्नुभएको छ । उहाँको वेशभ्ूषादेखि लिएर बोल्ने शैलीले दर्शकलाई अवश्य नै प्रभावित पार्न सक्छ । अन्य कलाकार दयाहाङ राई, रवीन्द्र झा, सौगात मल्ल, अनुपविव्रmम शाह, दिव्यदेव, दिव्या रायमाझी, सुपुष्पा भट्ट, कामेश्वर चौरासियार र विशेष अतिथिको भूमिकामा आर्यन सिग्देलको अभिनय पनि प्रशंसनीय छ । 

चलचित्रमा द्वन्द्व मात्रै छैन, दर्दनाक कथा पनि लुकेको छ । निर्माता विशाल चौलागाईंले चलचित्र राम्रो स्तरीय बनाउनमा कुनै सम्झौता गर्नुभएको छैन । हरेक चलचित्रमा छिटफुट कमजोरी हुने साधारण कुरा हो । कथा जतिसुकै राम्रो भए पनि चलचित्रमा द्वन्द्वको दृश्य हेरेर दर्शकले यसमा पनि चलचित्र अवधिभर दक्षिण भारतीय चलचित्रको स्वाद पाउँदैनन् भन्ने भने सकिँदैन ।