• ४ साउन २०८१, शुक्रबार

वातावरण दिवसको सन्देश

blog

झन्डै पाँच दशक अघिदेखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा जुन ५ तारिखलाई विश्वव्यापी रूपमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ । नेपालमा पनि लामो समयदेखि विश्व वातावरण दिवसका अवसरमा विविध वातावरणीय सचेतनासहित कार्यक्रम आयोजना हुने गरेका छन् । पर्यावरणीय समस्या बढ्दै गएको परिवेशमा यस्ता सचेतना कार्यक्रमले सबै क्षेत्रमा वातावरण संरक्षणप्रति जागरुक हुने सन्देश प्रवाहित भएको मान्न सकिन्छ । 

नेपालसहित विश्वका धेरै राष्ट्रमा वातावरण दिवस मनाइरहँदा मुलुकको राजधानी काठमाडौँ भने विडम्बनाको सिकार भएको छ । धेरै दिनदेखि फोहोर थुप्रिएको छ । थुप्रिएको फोहोर पहाडै बन्ने खतरा बन्दैछ । यो कुरूप अवस्थाले वातावरण दिवसको महत्वलाई उपहास गरिरहेको प्रतीत हुन्छ । स्वच्छ तथा स्वस्थ वातावरणको सन्देश प्रवाहित गर्न आयोजना हुने यस किसिमको दिवसमा राजधानीवासी फोहोरको दुर्गन्धको श्वास लिनुपर्ने बाध्यतामा छन् ।

राजधानीको यस दुरवस्था निराकरणका लागि सरकार, सम्बन्धित मन्त्रालय, दल, काठमाडौँ महानगरबीचको सहकार्य तथा समन्वय अति नै महत्वपूर्ण छ । फोहोरको समस्या समाधान काठमाडौँ महानगरबाट मात्र सम्भव छैन र यो जिम्मेवारी सबैको हो भन्ने बोध जिम्मेवार सबै निकायहरूले गर्नु नै पर्छ । तत्कालै फोहोर उठ्न सुरु नभएमा वर्षा सुरु हुने यस मौसममा विभिन्न सङ्क्रामक रोगको चपेटामा राजधानीवासी पर्न सक्छन् । यति मात्र होइन कोरोना सङ्क्रमणबाट मुलुक पूर्ण रूपमा मुक्त नभइसकेको तथ्यलाई पनि कसैले बिर्सनु हुँदैन । 

‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने राष्ट्रिय नाराका साथ उत्साहपूर्वक मनाइयो । पृथ्वी प्राणी तथा वनस्पति मात्रको साझा आश्रयस्थल भएको तथ्यमा कसैको दुई मत हुने कुरा भएन । साझा घर पृथ्वीको वातावरणीय संरक्षणतर्फ पनि सबैको सामूहिक प्रयत्न त्यत्तिकै आवश्यक छ ।

आधुनिक सुविधासहितको जीवनयापनका नाममा मानव जातिले नै प्रकृतिमा प्रतिकूल प्रभाव पर्ने गरी विभिन्न क्रियाकलाप गर्ने क्रमलाई निरन्तरता दिइरहेकोले समस्या जटिल भएको छ । यसले भविष्यमा मानव जातिलाई नै निकै प्रतिकूल प्रभाव पर्ने तथ्यलाई नकार्न सकिँदैन ।

मौसम परिवर्तन, हरित गृह प्रभाव, बेमौसमी वर्षा, बाढी पहिरो, कृषि उपज बढाउने नाममा बढ्दो विषादीको प्रयोग आदि मानव सिर्जित क्रियाकलाप हुन् । यस्ता क्रियाकलापले पृथ्वीलगायत यहाँ बसोवास गर्ने मानव, पशुपन्छी, वनस्पतिमा निकै नराम्रो असर पु-याइरहेको छ । यस्ता समस्याको समाधान मानवले आफ्नो आचरण तथा व्यवहारको सुधारबाट नै सम्भव छ । 

धनी तथा औद्योगिक राष्ट्रहरूको लालच एवं अभिलाषाका कारण नेपालजस्ता पर्वतीय मुलुकहरूमा अनेक समस्या सिर्जना भएका छन् । तापक्रममा वृद्धि, हिमालका हिउँ असमयमा पग्लिने, हिमनदी फुट्नेलगायतका गम्भीर तथा खतरनाक वातावरणीय सङ्कटको सामना गर्नुपर्ने स्थिति निम्तिएको छ ।

यस्तो विश्वव्यापी सङ्कटको एक्लै सामना गर्न नेपालजस्ता मुलुकहरूका लागि सम्भवको विषय होइन । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा सामूहिक प्रयत्न वाञ्छनीय छ । विश्व वातावरण दिवसजस्ता दिवसहरूले यस दिशामा केही सकारात्मक कदमहरू पहिल्याउने अपेक्षा गर्न सकिन्छ ।

हालै बेलायतको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी अधिकांश राष्ट्रले वातावरणका क्षेत्रमा सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । अहिलेको समय भनेको ती सबै राष्ट्रले आफ्ना प्रतिबद्धतालाई इमानदारीका साथ कार्यान्वयन गर्ने समय हो । यसमा कुनै विकल्प देखिँदैन । यसतर्फ विश्वका सबै राष्ट्र विशेष गरी धनी तथा औद्योगिक राष्ट्रले अग्रगामी तथा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने दायित्वलाई कदापि बिर्सनु हुँदैन । 

भोलिका हाम्रा अर्थात् भावी सन्ततिका लागि वातावरणीय दृष्टिकोणबाट उपयुक्त पृथ्वी हस्तान्तरण गर्नु आजको कर्तव्य हो । यसमा सबैको क्रियाशीलता अहिले आवश्यक छ । आजैदेखि विश्वका हामी सबै मानव जातिले आफ्ना बानी व्योहरा तथा आचरणमा परिवर्तन ल्याउनुपर्छ । वातावरणमैत्री जीवनशैली अवलम्बन गर्नुपर्छ । मानव जातिलगायत सबै प्राणी तथा वनस्पतिको अस्तित्वको एक मात्र आधार पृथ्वी नै हो ।

यसमा कुनै विकल्प हालसम्म छैन । त्यसैले पृथ्वीको पर्यावरणीय संरक्षणका दिशा सकारात्मक योगदान समयका माग हो । विश्व वातावरण दिवसले यही प्रभावकारी सन्देश दिएको छ । नेपालले संसारलाई स्वच्छ हिमशृङ्खलाको दृश्यावलोकन दिएको छ र यसलाई जोगाइराख्न अनवरत प्रयास गर्नुपर्छ । पर्यावरणीय विनाशका कुनै पनि कार्यलाई निस्तेज पार्दै लैजानु जरुरी छ ।