केशब राज भट्ट
(बाशलिङ्ग) बैतडी चैत २८ गते । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका बैतडीका तीन ओटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) निर्वाचन सम्पन्न भएको छ ।
बुधवार सम्पन्न निर्वाचनमा दुई ओटा क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एक ओटामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरूको संयुक्त प्यानल निर्वाचित भएको छ ।
जिल्ला सदरमुकाम गोठलापानीको जगन्नाथ बहुमुखी क्याम्पसमा नेविसंघको पुरै प्यानलसहित सभापतिमा रोशन भट्ट एक सय एक मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडुले ५० मत ल्याउनुभएको जगन्नाथ बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत हरिदत्त भट्टले बताउनुभयो ।
मेलौली स्थित मणिलेक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेविसंघका मनोज दत्त ओझा प्यानलसहित विजयी हुनुभएको हो । उहाँले ४८ मत ल्याउनुभएको थियो । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत ल्याउनुभएको भने अखिल क्रान्तिकारीबाट अध्यक्ष पदकी उम्मेदवार कल्पना भट्टले २१ मत ल्याउनुभएको छ ।
यस्तै पाटन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानल निर्वाचित भएको छ । पाटन क्याम्पसको सभापतिमा अनेरास्ववियुका सन्जु भण्डारीले एक सय पाँच मत ल्याएर निर्वाचित हुनुभएको छ । पाटनमा स्वतन्त्र समूहका उम्मेदवार गौतम अवस्थीले ५५ मत र नेवि सङ्घकी उम्मेदवार माधवी भट्टले १६ मत ल्याउनु भएको पाटन बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत उत्तम भण्डारीले बताउनुभयो ।
विश्वविद्यालयले चैत्र १३ गते बुधवार मतदाता नामावली प्रकाशित गर्दै चैत्र १७ गते उम्मेदवारी दर्ता र चैत २७ गते मतदानको तालिका तोकेको थियो ।