नवराज कट्टेल
विराटनगर, चैत २८ गते । कोशी पर्यटन वर्ष–२०८२ को औपचारिक उद्घाटन आउन लाग्दा पर्यटन व्यवसायीले भारतीय पर्यटकसँगको सम्बन्ध जोड्ने कार्यक्रमको तयारी गरेका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाटा) कोशी र इस्टर्न हिमालय ट्राभल्स एन्ड टुर अपरेटर्स (एटो) इन्डियाबिच क्रस बोर्डर पर्यटन सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता हुने भएको हो ।
तेह्रथुमको तीनजुरे क्षेत्रमा कोशी पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ । यही सन्दर्भमा कोशीमा भारतीय पर्यटक भित्र्याउन भारतको सञ्जालसँग दुईपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको हो ।
नाटा कोशीका अध्यक्ष पुण्य भट्टराईका अनुसार एटोमा आबद्ध १०७ वटा ट्राभल्स एजेन्टका प्रतिनिधि सोमबार मेचीनगरस्थित मेची क्राउनमा आउने र उनीहरूलाई नाटाले स्वागत गर्ने कार्यक्रम छ । मङ्गलबार एटोसँग नाटाबिच दुईपक्षीय सहयोग आदानप्रदानका लागि सहमति गरिने भएको छ । ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ को आयोजना गरेपछि हामीले कोशी पर्यटन वर्ष उद्घाटन क्षेत्रमा उनीहरूलाई घुमाउने कार्यक्रम राखेको नाटाका अध्यक्ष भट्टराईले बताउनुभयो । उहाँका अनुसार नेपालमा ७५ प्रतिशत पर्यटक ट्राभल्स एजेन्सीमार्फत आइरहेका छन् ।
भारतका पर्यटकलाई त्यहाँका ट्राभल्स एजेन्सीले नेपालमा लिएर आउँदा नेपालमा उनीहरूको यात्रा सहजीकरण गर्न आश्वस्त पार्ने उद्देश्य राखिएको अध्यक्ष भट्टराईको भनाइ छ । कोशीको वातावरणसँग कसरी भारतीय पर्यटकलाई टिकाउन सकिन्छ भन्ने सिकाइ पनि नेपालका पर्यटन व्यवसायीलाई जरुरी रहेको उहाँको भनाइ छ ।
कोशीको पहाडी क्षेत्र र हिमाली क्षेत्र मात्रै नभई तराईका जिल्लालाई पनि कसरी हबका रूपमा विकास गर्ने भन्ने पर्यटन वर्षको उपयोगबाट लिन सक्नुपर्ने पर्यटन व्यवसायीको बुझाइ छ । त्यसका लागि भारतबाट आएका पर्यटकलाई प्रदेश राजधानी विराटनगरमा एक रात र झापा तथा सुनसरीमा थप कसरी बसाउन सकिन्छ भन्ने योजना जरुरी रहेको व्यवसायीको भनाइ छ ।
विराटनगरका होटेल व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ को सचिवालय सहसंयोजक भविषकुमार श्रेष्ठले तेह्रथुमको तिनजुरे क्षेत्रमा उद्घाटन हुने कार्यक्रम एक वर्षसम्म निरन्तर रहने दाबी गर्नुभयो । कोशी पर्यटन वर्ष–२०८२ को महत्व आफैँमा यस प्रदेशका लागि फरक ढङ्गले सिद्ध हुने र त्यसका लागि पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीसँग समेत परामर्श र छलफल गरिरहेको उहाँको भनाइ छ ।
कोशी सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पर्यटन वर्ष–२०८२ लाई एक वर्षसम्म विभिन्न गतिविधि गर्ने र आवश्यक पूर्वाधार तयार पारेर लक्ष्य हासिल गरिने बताउनुभयो । उहाँले ‘रमणीय कोशी प्रदेश’ मूल नारासहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीलाई निम्ता पठाइएको जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपियाँ बजेट विनियोजन गरेर पर्यटन वर्ष–२०८२ लाई घोषणा गरेको हो । ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा तय गरिएको मन्त्री मण्डलले जानकारी दिनुभयो । चार प्रमुख धार्मिक गन्तव्य र पर्यापर्यटन पैदलमार्गलाई विशेष जोड दिइएको मन्त्री मण्डलको दाबी छ । वराह क्षेत्र, हलेसी, पाथीभरा, रामधुनीलाई विशेष प्रवर्धन गर्ने पर्यटन वर्षको लक्ष्य छ । यसै गरी प्राकृतिक सुन्दरतालाई उपयोग गर्ने बताइएको छ ।
सरकारले पर्यटन वर्षको दौरानमा भारतसँगका चार मुख्य नाकामा पर्यटन सूचना केन्द्र स्थापना गरी तथ्याङ्क सङ्कलनलाई व्यवस्थित गर्ने दाबी गरिएको छ ।
कोशीमा प्रमुख पर्यटकीय गन्तव्य १४ वटा र नयाँ विकास गरिनुपर्ने गन्तव्य १६ वटा छन् । कोशी प्रदेशमा वार्षिक ४८ हजारको हाराहारीमा तेस्रो मुलुकका पर्यटक भित्रिने गरेको तथ्याङ्क छ । सन् २०२२ मा एक हजार पाँच सय पर्वतारोही पुगेका थिए । व्यवसायी श्रेष्ठका अनुसार कोशीमा तारेस्तरका होटेल १२ वटा र पर्यटकीय स्तरका ३६ वटा र निजी तथा सामुदायिक १०५ होमस्टे छन् ।