गुणबहादुर रोका
सुलीकोट, असोज ३० गते । पृथ्बीराजमार्ग अन्तर्गत गोरखा आँबुखैरेनी सडक खण्डमा खाल्डाखुल्डी भएको सडक मर्मत तथा कालोपत्रे गरिएको छ । तनहुँको आँबुखैरेनीदेखि गोरखा सदरमुकाम पुग्ने मुख्य सडकमा खाल्डाखुल्डी परी दुर्घटना हुने सम्भावना भएपछि सडक मर्मत तथा कालोपत्रे गरिएको हो ।
वर्षासँगै मुख्य सडक नै बगाउनुका साथै बीच सडकमा ठुला ठुला खाल्डाखुल्डी भएपछि छेउ छाउ र बीच भागमा मर्मत तथा १–१ मिटर कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
सडक डिभिजन कार्यालय दमौलीको ४७ लाख ८७ हजार रुपियाँमा निर्माण कम्पनीसंग ठेक्का सम्झौता गरी सडक मर्मत तथा छेउछाउमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।
सडक डिभिजन कार्यालय दमौली र श्रीराम निर्माण सेवाबीच २०८२ साल भदौ ३० गते सम्झौता भई माघ मसान्तसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए तापनि निर्माण कम्पनीले तोकिएको समय सीमाभन्दा ३ महिना पहिला नै काम सम्पन्न हुने गरी काम अघि बढाएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
निर्माण कम्पनीले गोरखा सदरमुकामदेखि आँबुखैरेनी सडक ्सम्म मर्मत सम्भार गरी केही भागमा कालोपत्र गरी झण्डै ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेकाले कात्तिक मसान्तसम्म सम्पन्न हुने सडक डिभिजन कार्याल दमौलीका प्रमुख श्रेष्ठको भनाइ छ ।
गोरखा सदरमुकाम देखि आँबुखैरनी सम्म सडकमा भएका खाल्डाखुल्डीले आवतजावतमा निकै नै समस्या हुने गरेको थियो, दरौंदी यातायात कम्पनी प्रालिका अध्यक्ष दीपक बोहराले भन्नुभयो, ‘मुख्य सडकहरुमा मर्मत तथा कालोपत्रे भएकाले यातायात व्यवसायीहरुलाई अहिले निकै नै सहज भएको छ ।’
सडक मर्मत तथा खाल्डाखुल्डी नभएपछि सडकको छेउछाउमा धुलो उड्न छोड्नुका साथै सवारीसाधनहरु सहजै दुई साइडमा सञ्चालन हुँदै आएको यातायात व्यवसायी अर्जुन भट्टको भनाइ छ ।