• ३ साउन २०८१, बिहिबार

पाल्पाका स्थानीय तहलाई चार अर्ब आठ करोड बजेट

blog

रेखीराम राना
पाल्पा, जेठ २२ गते।
पाल्पाका १० स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि चार अर्ब आठ करोड २१ लाख बजेट विनियोजन भएको छ। गएको जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेटमा पाल्पाका दश पालिकालाई चार अर्ब आठ करोड २१ लाख बजेट छुट्टयाइएको हो।

विनियोजित रकममध्ये समानीकरण अनुदानमा एक अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानतर्फ दुई अर्ब ७७ करोड १३ लाख, समपूरक अनुदान ११ करोड २० लाख र विशेष अनुदान पाँच करोड पाँच लाख रकम रहेको छ। 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहलाई अघिल्लो वर्षभन्दा यो वर्ष २६ करोड ४६ लाख बढी रकम विनियोजन गरिएको छ। 

जिल्ला सदरमुकाम तानसेनलाई समानीकरण अनुदानमा १७ करोड ६१ लाख, शसर्त अनुदानमा ४५ करोड ४२ लाख, समपूरक अनुदान तीन करोड र विशेष अनुदानमा ५० लाख गरेर जम्मा ६६ करोड ५३ लाख विनियोजन गरिएको छ। 

यस्तै रामपुर नगरपालिकालाई जम्मा ४९ करोड ८१ लाख विनियोजन भएको छ। सोमध्ये समानीकरण अनुदानमा १३ करोड ३७ लाख, सशर्त अनुदान अन्तर्गत ३४ करोड २४ लाख, समपूरक अनुदानमा एक करोड ७० लाख र विशेष अनुदानमा ५० लाख रकम रहेको छ।

रैनादेवी छहरा गाउँपालिकालाई समानीकरण अनुदानमा ११ करोड ५५ लाख, सशर्त अनुदान अन्तर्गत ३२ करोड १० लाख, विशेष अनुदान एक करोड २० लाख र समपूरक अनुदान ८० लाख गरेर ४५ करोड ६५ लाख विनियोजन भएको छ। रिब्दीकोट गाउँपालिकाका लागि समानीकरण अनुदानमा नौ करोड ८० लाख, सशर्त अनुदान अन्तर्गत २४ करोड ९४ लाख र समपूरक अनुदानमा ७० लाख गरी ३५ करोड ४४ लाख बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ। 

माथागढी गाउँपालिकामा विनियोजित कूल ३८ करोड ६३ लाख रकम विनियोजन गरेकोमध्ये समानीकरण अनुदानमा ११ करोड ३३ लाख, सशर्त अनुदानमा २६ करोड ३० लाख र समपूरक अनुदानमा एक करोड रहेको छ। रम्भा गाउँपालिकालाई ३४ करोड २५ लाख विनियोजन गरिएको छ। रम्भाको समानीकरण अनुदानमा १० करोड ३१ लाख, सशर्त अनुदान अन्तर्गत २३ करोड चार लाख र समपूरक अनुदानमा ९० लाख बजेट विनियोजन गरिएको छ।

तिनाउ गाउँपालिकाका लागि ३० करोड ५४ लाख रकममध्ये समानीकरण अनुदानमा नौ करोड ६२ लाख, सशर्त अनुदान अन्तर्गत २० करोड ४७ लाख र विशेष अनुदानमा ४५ लाख रकम विनियोजन गरिएको छ। 

बगनासकाली गाउँपालिकाका लागि ३४ करोड ७३ लाख विनियोजन भएको रकममध्ये समानीकरण अनुदानमा १० करोड ७० लाख, सशर्त अनुदान अन्तर्गत २२ करोड ९३ लाख, समपूरक ७० लाख र विशेष अनुदान ४० लाख रहेको छ। 

पूर्वखोला गाउँपालिकालाई विनियोजित ३२ करोड ८८ लाख रकममध्ये समानीकरण अनुदानमा नौ करोड ९५ लाख, सशर्त अनुदान अन्तर्गत २० करोड ९३ लाख, समपूरक अनुदान ७० लाख र विशेष अनुदानमा एक करोड ३० लाख रहेको छ।

निस्दी गाउँपालिकामा समानीकरण अनुदानमा १० करोड ५९ लाख, सशर्त अनुदान अन्तर्गत २६ करोड ७६ लाख, समपुरक अनुदानमा एक करोड ३० लाख र विशेष अनुदानमा एक करोड १० लाख गरी ३९ करोड ७५ लाख विनियोजन भएको छ।