• ६ जेठ २०८१, आइतबार

वीरगञ्ज चिनी र कृषि औजार कारखाना : बन्द उद्योग सञ्चालन हुने

blog

कन्हैयालाल केशरी/दीपकप्रसाद गौतम

वीरगञ्ज, जेठ २२ गते  । अर्थमन्त्री जनार्दन शर्माले दुई दशकदेखि बन्द रहेका वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । शनिबार वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारण सभाको उद्घाटन समारोहलाई वीरगञ्जमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना चलाउने भनेरै बजेटमा उल्लेख गरिएकोे बताउनुभयो । 

वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने जनाउँदै उहाँले बन्द कारखाना सञ्चालनकै लागि नयाँ बजेटमा रकम व्यवस्था गरिएको र सरकारले छ÷सात महिनाअघि नै कर्मचारीको व्यवस्थापन गर्ने कार्यसमेत सुरु गरिसकेको जानकारी दिनुभयो । 

विगत छ÷सात महिनादेखि निरन्तर उद्योग सञ्चालनका सम्बन्धमा गरिएको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा बजेटमा उद्योग सञ्चालन गर्ने कार्यक्रम राखिएको मन्त्री शर्माले बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घको उक्त कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले शनिबार बिहान वीरगञ्ज चिनी काराखानाको स्थलगत निरीक्षण समेत गरेको थियो । निरीक्षणका क्रममा कारखानामा कार्यरत कर्मचारीले चिनी कारखाना सञ्चालनयोग्य अवस्थामा रहेको जानकारी गराएको बताइएको छ । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जका उद्योगी व्यवसायीसँग सहकार्य गरेर वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्न अर्थमन्त्री शर्मालाई सुझावसमेत दिनुभएको थियो ।

कार्यक्रममा सम्बोधनका क्रममा मन्त्री शर्माले सर्वोच्च अदालतले जेसुकै आदेश गरे पनि निजगढ विमानस्थल बनेरै छाड्ने दाबी पनि गर्नुभयो । मन्त्री शर्माले भन्नुभयोे, “निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ, यो जनार्दन शर्माको प्रतिबद्धता भयो । त्यसैले सरकारले नयाँ बजेटमा निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।” 

उहाँले निजगढ विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमात्र नभई मधेस र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि आवश्यक भएको तर्कसमेत गर्नुभयो । 

सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगी, व्यापारी, किसान र मजदुरको हितमा ल्याएको बताउनुभएको छ । निजी क्षेत्रले दिएको सुझावलाई समेटेर देश विकास र समृद्धिको नीतिमा नयाँ बजेट ल्याइएको उहाँले दाबी गर्नुभयो । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोध गुप्ताको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मधेश प्रदेशका ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्मा, पर्साका सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य विभा यादव, वीरगञ्जका नगरप्रमुख राजेशमान सिंह, जितपुर–सिमरा उपमहानगरका नगरप्रमुख राजन शर्मा पौडेललगायतको उपस्थिति रहेको थियो ।