खेमराज सापकाेटा
रानी, चैत २७ गते । सतहमा देखिँदा सामान्य सवारी चोरीजस्तो लाग्ने घटना अहिले विराटनगरमा सङ्गठित आपराधिक सञ्जालको रूप लिँदै गएको तथ्य उजागर भएको छ । पछिल्लो सफारी चोरीका घटनामाथि प्रहरीले गरेको अनुसन्धानले सफारी चोरीको घटना योजनाबद्ध नेटवर्कमार्फत सञ्चालन भइरहेको देखाएको हो ।
विराटनगर–६, सरौचियास्थित एक कबाडी गोदाममा बिहीबार प्रहरीले छापा मार्दा भेटिएका सिटी सफारीका पार्टपूर्जाले अपराधको नयाँ शैली सार्वजनिक गरेको छ । चोरी गरिएका सफारी सिधैं प्रयोग वा बिक्रीमा नल्याई कबाडीमा पुर्याएर टुक्र्याउने र छुट्टाछुट्टै बिक्री गर्ने प्रवृत्ति देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार यसरी पार्टपुर्जा अलग्याएपछि सवारी साधनको पहिचान नै मेटिने भएकाले अनुसन्धान जटिल बन्ने गरेको छ । लामिछानेका अनुसार अनुसन्धानकै क्रममा सो कवाडी गोदामसम्म आइपुगेको बताउँदै कवाडिका सञ्चालक विजय सहनी भने फरार रहेका छन् ।
‘सो सवारी रङ्गेलीबाट हराएको भन्ने उजुरीका आधारमा आरोपितलाई पक्राउ गरेर अनुसन्धानका क्रममा हामी यहाँसम्म आइपुगेका हुन्,’ उहाँले भन्नुभयो ।
बरामद गरिएका दुई वटा सफारीका पार्टहरू प्लास्टिकजन्य कबाडीले छोपेर राखिएको अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार पछिल्लो समय विराटनगरसहित मोरङका विभिन्न क्षेत्रमा सिटी सफारी चोरी बढ्नुको पछाडि यस्तै कबाडी–आधारित ‘डिस्म्यान्टल नेटवर्क’ सक्रिय रहेको देखिएको छ ।