नौरते नेपाली
सिँजा (जुम्ला), चैत २७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले सञ्चालन गरेको निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरबाट जिल्लाका बिरामीहरूले ठुलो राहत पाएका छन् । चैत २३ देखि २६ गतेसम्म सञ्चालन भएको शिविरमा ९० जनाको सफल शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।
शल्यक्रियाका लागि आएका केही बिरामीमध्ये उच्च रक्तचाप लगायतका कारण ६ जनाको शल्यक्रिया भने अन्तिम समयमा स्थगित गरिएको थियो ।
शिविर अन्तर्गत विभिन्न स्थानीय तहमा सञ्चालन गरिएका आँखा परीक्षण तथा छनोट कार्यक्रम मार्फत कुल ८१५ जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये एक सय एक जना मोतियाविन्दुका बिरामी शल्यक्रियाका लागि छनोट भएका थिए ।
चैत १६ गते पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा २३८ जनाको आँखा परीक्षण गर्दा २८ जना, चैत १७ गते गुठीचौर गाउँपालिकाको धवलमुणमा २७० जनामध्ये ३० जना, चैत १८ गते तातोपानी गाउँपालिकाको लिताकोट स्वास्थ्य चौकीमा १९२ जनामध्ये २६ जना तथा चैत १९ गते तिला गाउँपालिकाको डुन्डेली स्वास्थ्य चौकीमा ११५ जनाको आँखा परीक्षण गर्दा १७ जना बिरामी मोतियाविन्दु शल्यक्रियाका लागि छनोट भएका थिए ।
छनोट भएका बिरामीहरूको शल्यक्रिया प्रतिष्ठानमै सम्पन्न गरिएको हो । आँखा विभाग प्रमुख तथा नेत्र रोग विशेषज्ञ डाक्टर प्रकाश बमको नेतृत्वमा शल्यक्रिया गरिएको थियो । तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा शल्यक्रिया शिविरसम्पन्न भएको हो ।
शिविरले दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा आँखाको उपचार सेवा उपलब्ध गराउँदै दृष्टि सुधारमा महत्त्वपूर्ण योगदान पुर्याएकाे स्थानीयले बताएका छन् ।