चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २७ गते । ताप्लेजुङस्थित जिल्ला प्रशासन कार्यालयले थप सहज र सरल रूपमा सेवा प्रवाह सुरु गरेको छ । कार्यालयको सेवालाई सुदृढ गर्दै जनमुखी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित सहज सेवा प्रवाह थालिएको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार सेवा प्रवाहलाई परिष्कृत गर्दै थप सरल र सहज बनाइएको छ । प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता सेवालाई सहज बनाउने प्रयत्न गरिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार उक्त सेवाका लागि सुरुमा कागजातमा तोक लगाउने र प्रक्रिया पूरा भएपछि प्रमाणित गर्नेजस्ता काम अहिले एउटै फाँटबाट सम्पादन हुन थालेको छ । प्रशासन कार्यालयको योजनाअनुसार सेवालाई छिटो–छरितो बनाउन तोक लगाउने र काम पूरा भइसकेपछि प्रमाणित गर्ने अधिकारीको कार्यकक्ष सम्बन्धित फाँटमै मिलाइएको छ ।
यसरी जनमुखी सेवा प्रवाहको योजना कार्यान्वयनमा आएसँगै सर्वसाधारणलाई थप सहज भएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो । उहाँका अनुसार सेवा प्राप्त गर्नका लागि कागजातमा तोक लगाउन र प्रमाणित गराउन विभिन्न फाँटहरू चाहार्नुपर्ने अवस्थाबाट सेवाग्राहीले मुक्ति पाएका छन् ।
सरल सेवा प्रवाहको योजना कार्यान्वयनमा आएसँगै सेवाग्राहीले राहत महसुस गर्न थालेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बताउनुभयो । प्रजिअ सेढाइँका अनुसार भर्खरैदेखि एकै ठाउँबाट सेवासम्बन्धी काम तथा कागजातमा तोक लगाउने र अन्तिममा प्रमाणित गर्ने कार्य सुरु गरिएको हो ।
यस्तै, जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको सहजताका लागि यसअघिदेखि नै नागरिक सहायता कक्ष, डिजिटल सूचना प्रणाली, स्तनपान कक्ष र सेवाग्राही विश्रामस्थलको व्यवस्था गरेको छ । राहदानीको निःशुल्क अनलाइन फाराम भर्ने, राष्ट्रिय परिचयपत्रको फाराम भर्ने र कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने कागजातको प्रतिलिपि सेवासमेत प्रशासन कार्यालयले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।