• २० चैत २०८१, बुधबार

हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफलः सचिव भट्टराई

blog

नेकपा (एमाले)का सचिव योगेश भट्टराई मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, चैत १९ गते । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफल भएको बताउनुभएको छ । मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरू संसदले पास गरेको यो विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । उहाँले विधायिकी कामको हिसाबले आलोचना गर्नुपर्ने ठाउँ नरहेको जानकारी दिनुभयो । उहाँले सरकारले पनि केही महत्त्वपूर्ण विधेयकहरू हिउँदे अधिवेशनमा प्रस्तुत गरेको र महत्त्वपूर्ण रहेको बताउनुभयो । 

सचिव भट्टराईले भन्नुभयो, ‘‘यो हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरू संसदले पास गरेको छ । विगतको तुलनामा यो धेरै नै महत्त्वपूर्ण उपलब्धि हो । संसद आज चल्न पाएको भए थप दुई वटा विधेयक पनि पास हुन्थे । विधायिकी कामको हिसाबले त्यति आलोचना गर्नुपर्ने ठाउँ छैन । यो बिचमा समितिले पनि पर्याप्त मात्रामा बैठकहरू गर्नुभयो । त्यस कारणले नै यो सम्भव भएको हो । सरकारले पनि केही महत्त्वपूर्ण विधेयकहरू यो हिउँदे अधिवेशनमा प्रस्तुत गरेको छ ।’’

सचिव भट्टराईले प्रधानमन्त्रीले चार÷चार पटक संसदलाई सम्बोधन गर्नु भनेको प्रधानमन्त्रीले संसदलाई विशेष महत्त्व दिएको पाएको पनि बताउनुभयो । हिउँदे अधिवेशनमा समसामयिक राजनीतिमा उठिरहेका विषयवस्तुको बारेमा पनि संसदमा छलफल भएको बताउनुभयो । ०७९ पछि बनेको प्रतिनिधिसभामा परिपक्वता, सहिष्णुताको अभाव खड्किएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘‘सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बलको सम्बन्धमा बनेको ऐनलाई विधेयकको रूपमा ल्याएको छ । नागरिकता संशोधन विधेयक ल्याएको छ । नागरिक उड्डयन प्राधिकरण र हवाई उड्डयन प्राधिकरणसम्बन्धी दुई वटा विधेयकहरू जो दशकौंदेखि यो कानुन बन्नुपर्छ भनेर आवाज उठिरहेको तर कानुन नबनेको हुनाले सरकारले यो विधेयक ल्याएको छ । यद्यपि म संस्कृति, पर्यटन भएको बेलामा पनि यो विधेयक राष्ट्रियसभाबाट हामीले पारित गरिसकेका छौँ ।’’