• २० चैत २०८१, बुधबार

छ सय किमी टाढा पुगेर चर्छन् मौरी

blog

काठमाडौँ, चैत १७ गते । गर्मी चढेपछि जाडोमा बेँसी झारिएका भेडा र चौँरी लेक चढाइन्छन् । चरन क्षेत्र खोज्दै भेडीगोठ अर्को ठाउँमा सारिन्छ । भेडा, च्याङ्ग्रा र चौँरीभन्दा फरक उडेर कैयौँ किलोमिटर टाढा पुग्ने मौरीलाई पनि एक ठाउँबाट अर्को ठाउँमा चरनका लागि लग्ने गरिन्छ । एक ठाउँमा फूल फुल्न छाडेपछि अर्को ठाउँमा लगेर मौरीलाई राखिन्छ । 

काभ्रेपलाञ्चोकका मौरी दाङसम्म र प्युठानका मौरी चितवनसम्म लगेर चराउने गरिन्छ । मौरीपालनको पहिलो आवश्यकता नै फूलबाट प्राप्त हुने पुष्परस तथा कुट अर्थात् चरनको उपलब्धता भएकाले मौरीलाई चरनमा लैजाने गरिएको हो । केही दिन लगाएर छ सय किलोमिटर टाढासम्म मौरी लिएर जाने गरिएको छ । सर्लाहीको मौरी सुर्खेत, रोल्पा, रुकुम, अर्घाखाँचीसम्म चराउन लगिन्छ । चितवनमा धेरै जिल्लाका मौरी चराउन ल्याइन्छ भने चितवनका मौरी पनि अन्य जिल्लामा चराउन लगिन्छ । 

व्यावसायिक मौरीपालन गरिरहेका काभ्रेपलाञ्चोक, बनेपाका सुवासचन्द्र सुनुवारले खाना उपलब्ध नहुने समयमा मौरीले गोला गृहत्याग गर्ने भएकाले मौरीलाई चरन क्षेत्रमा लैजान आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार बनेपाबाट मौरी चराउन दाङसम्म लैजाने गरिएको छ । खानाको उपलब्धताका आधारमा मौरीपालक किसानहरूले पात्रो नै बनाएर एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउन लिएर जान्छन् । त्यस्तो पात्रोले कुन समयमा कुन क्षेत्रमा कुन बिरुबामा फूल फुल्छ भन्ने निर्धारण गर्ने गर्दछ । त्यसरी वर्षको आठदेखि नौ महिनासम्म नै एक ठाउँबाट अर्को ठाउँसम्म मौरीलाई चराउन लगिन्छ । सुनुवारले मौसम र ठाउँ अनुसार जति धेरै चरन उपलब्ध हुन्छ, त्यति नै धेरै मह उत्पादन हुने भएकाले व्यावसायिक मौरीपालनमा चरनको ठुलो महत्व हुने उल्लेख गर्नुभयो । 

गोरखामा व्यावसायिक रूपमा मौरीपालन गरिरहनुभएका सुमन खड्काले स्थानीय जातको मौरीलाई चरन क्षेत्र आवश्यक नभए पनि मेरिफेरा जातको मौरीलाई चरन क्षेत्र आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले व्यावसायिक रूपमा मौरी पाल्नेले पात्रो बनाउनुपर्ने र धेरै उत्पादन गर्न पनि चरन क्षेत्रको आवश्यकता पर्ने उल्लेख गर्नुभयो ।

मौरीपालक किसान हेमराज देवकोटाले मौरीका छाउरा हुर्काउन र मह उत्पादन वृद्धिका लागि चरन पात्रो आवश्यक रहेको बताउनुभयो । उहाँ कुनै स्थान विशेषमा वर्षभरि उपलब्ध हुने मौरी चरनको लेखाजोखा राख्ने र आहार व्यवस्था गर्नका लागि एउटा पात्रो तयार गर्न आवश्यक रहेको औँल्याउनुहुन्छ । पात्रोमा त्यस क्षेत्रमा कुन बोटबिरुवाबाट मौरीले खाना सङ्कलन गर्छ, कुन बोटबिरुवा कहिले फुल्छ र फूल फुल्ने अवधि कति समय रहन्छ, उक्त फूलबाट मौरीले पुष्परस वा पराग के सङ्कलन गर्छ भन्ने पूर्ण जानकारी आवश्यक पर्ने उहाँले उल्लेख गर्नुभयो । 

सरकारी वन, सामुदायिक वन, व्यक्तिगत वनबाट मौरीले प्राप्त गर्ने रस, कुट भएको वनस्पतिलाई जङ्गली चरन मानिने देवकोटाले स्पष्ट पार्नुभयो । यो चरन स्थायी प्रकृतिको, दीर्घकालसम्म रहने भएकाले चरनपात्रो बनाउँदा सोही अनुसार योजना बनाउनुपर्ने उहाँको भनाइ छ । तराईमा सिसौ, रुदिलो, मसला, कडिपत्ता, पड्के, जामुन, पहाडमा चिउरी, चिलाउने, अङ्गेरी, चौतारी, हाडेबयर, पैयुँका स्रोतबाट मौरीले रस सङ्कलन गर्छन् । 

खेतबारीमा उब्जाइने कृषिजन्य बालीनाली, फलफूल, तरकारीबाट पनि मौरीलाई पुष्परस, कुट उपलब्ध हुन्छ, जसलाई कृषिजन्य चरन भनिन्छ । कृषिजन्य चरन छोटो समयमा नै मौरीलाई उपलब्ध गराउन सकिन्छ । तोरी, सस्र्युं, मकै, फापर, सूर्यमुखीले तत्कालै रस र कुट उपलब्ध हुन्छ । नेपालको चरन क्षमता १० लाख गोलाका लागि पर्याप्त भएको बताइएको छ । कृषि तथ्याङ्क अनुसार यहाँ मौरीगोला सङ्ख्या तीन लाखको हाराहारीमा छ । 

मौरीगोला स्थानान्तरण गर्ने सन्दर्भमा र मौरीखर्क स्थापनाका लागि चरन नक्साङ्कन र चरन क्षमताको भूमिका धेरै महत्वपूर्ण हुन्छ । त्यसैले व्यावसायिक मौरी पालकले नेपालभरकै मौरी चरन नक्साङ्कन गरी रेकर्ड राख्न जरुरी रहेको मौरीपालक हेमराज देवकोटाले उल्लेख गर्नुभयो । 

त्यस क्षेत्रमा उपलब्ध चरनमा कति सङ्ख्यामा मौरी वा मौरीगोला राख्ने या मौरीखर्क स्थापना गर्ने वा कति दिन, हप्ता, या महिना मौरी राख्ने, सो कुरा त्यहाँको चरन क्षमतामा भर पर्छ ।    

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।