• २१ असोज २०८२, मङ्गलबार

बाली जोगाउन कृषकलाई विज्ञको सल्लाह

blog

काठमाडौँ, असोज १९ गते । अविरल वर्षापछि कृषिमा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह सार्वजनिक गरेको छ । 

मनसुन सक्रिय रहने समयमा तरकारीबाली, फलफूल बगैँचा तथा पाक्न लागेको धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न अनुरोध गरिएको छ । विषादी छर्कने कार्य रोक्न, नदी, खोलाछेउका संरचना बाढीको जोखिममा पर्न सक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्री सुरक्षित स्थानमा व्यवस्थापनका लागि आग्रह गरिएको छ । 

कृषि मौसमविद् रामेश्वर रिमालले विपत्को समयमा किसानले विशेष ध्यान दिन सके बालीनाली जोगाउन सकिने उल्लेख गर्नुभयो । धानबालीमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि पानीको निकास मिलाउन, धान नकाट्न, काटेको भए भित्र्याइहाल्न अनुरोध गरिएको छ । काटेको धान अग्लो ठाउँमा भण्डारण गर्न, विभिन्न तरकारीबालीको नर्सरीमा पानी जमेर बेर्ना कुहिन सक्ने भएकाले पानी निकासको प्रबन्ध गर्न रिमालले अनुरोध गर्नुभयो । 

धान मात्रै नभएर बर्सातको समयमा मौरीलाई चरन क्षेत्रको कमी हुने भएकाले चिनी चास्नी बनाएर खुवाउन, पशुबस्तुलाई पानीमा भिज्ने गरी नराख्न, दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्न, भिजेका र बाढी पसेका स्थानका घाँस, पराल, दाना वा अन्न नखुवाउन बुलेटिनमा भनिएको छ । 

पशुबस्तुलाई पाचन प्रणाली र पाचन प्रणालीजन्य रोगका लक्षण देखिन सक्ने हुँदा त्यसबारे चनाखो भई अनुगमन गर्न र तत्कालै पशु प्राविधिकलाई खबर गर्न नेपाल पशु चिकित्सा परिषद्ले अनुरोध गरेको छ । चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको सङ्क्रमण हुने र त्यसकारणले पशु चौपायामा समस्या देखिनेतर्फ सचेत रहन परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले अनुरोध गर्नुभयो । खोर चिसो र हिलो भएको अवस्थामा कुखुरामा जुम्रा, सुलसुले जस्ता बाह्य परजीवीको समस्या देखिने हुँदा दैनिक रूपमा खोरको अनुगमन गर्न, परजीवी देखिएमा दक्ष प्राविधिकको सल्लाह लिन भनिएको छ । मौसम विज्ञान विभागका सूचना अधिकारी दीनकर कायस्थले देशका धेरै ठाउँमा भारीदेखि अतिभारीसम्म वर्षा भइरहेकाले सोही अनुसार सतर्कता अपनाउन आग्रह गर्नुभयो । 

यो वर्षको दसैँ अगाडि परेपछि दसैँपछि धान काट्ने सुरसार गरेका किसान लगातारको वर्षाबाट प्रभावित भएका छन् । सामान्यतया धेरै स्थानमा कात्तिकमा धान काट्ने गरिए पनि पर्याप्त सिँचाइ हुने र घाम राम्रो लाग्ने ठाउँमा छिट्टै धान पाक्ने गर्छ । अविरल वर्षाका कारण भित्र्याउन तयार भएको धान भिजेपछि किसानलाई धान कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ । 

जेठमै धान लगाएका मध्यपहाडी जिल्लामा धान काट्ने मुख्य याम अहिले नै हो । किसानको प्रमुख खाद्य बाली धान खेतमै डुब्नुका साथै ढलेर उम्रने चिन्तामा किसान परेका छन् । धानविज्ञ कृषि प्रचार अधिकृत कृष्ण धिताल चैतेधानको तुलनामा बर्खेधान भिज्नेबित्तिकै नउम्रने उल्लेख गर्नुहुन्छ । तर किसानले सावधानी अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

नकाटेको धान अब पानी रोकिएपछि एक/दुई दिन पर्खेर मात्र काट्नुपर्ने उहाँले सुझाव दिनुभयो । “सबैभन्दा राम्रो उपाय पानी रोकिन्जेल धान नकाट्ने हो,” उहाँले भन्नुभयो, “काटिसकेको छ र भिजेको छ भने त्यसलाई ओभानो ठाउँमा सार्नु नै उत्तम विकल्प हो ।” 

हावाले लडेको धान पनि तत्काल नकाट्न र धानलाई उठाएर परम्परागत तरिका अनुसार दुई/तीन वटा गाँजलाई एक ठाउँमा बाँध्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसो गर्दा पानी तैरिन्छ र धान उम्रँदैन ।” कृषि विभागका प्रवक्ता जगन्नाथ तिवारीले सरकारी संयन्त्रले यसअघि नै दसैँको टीकापछि अविरल वर्षा हुने सूचना जारी गरेकाले किसानले धान काट्न हतार नगरेको हुन सक्ने बताउनुभयो । उहाँले धान काट्ने तरिकाबारे स्थानीय तहका कृषि प्राविधिकसँग सल्लाह लिन अनुरोध गर्नुभयो । जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले धान काटेको छ र त्यसलाई झारेपछि धानलाई तुरुन्तै हावा लाग्ने ठाउँ, ओत भएको ठाउँमा राख्न अनुरोध गर्नुभयो । थुपारेर राखेको धान फिँजाएर दुई/तीन घण्टाको अन्तरमा बेलाबेला चलाइराख्न अनुरोध गर्नुभयो । उहाँले सकेसम्म धान नझार्न र झारेको भएमा त्यसलाई जोगाउन उपाय अपनाउन अनुरोध गर्नुभयो । 

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।