गोरखापत्र अनलाइन
काठमाडौं, चैत १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापन र सुधार गर्न राष्ट्रिय विज्ञापन नीति आवश्यक रहेको बताउनुभएकोछ । आज राष्ट्रिय विज्ञापन संघको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशनमा यहाँ बोल्दै मन्त्री गुरुङले पुरानो नीति र व्यवस्थामा चलेको विज्ञापन नीति समयानुकुल परिमार्जन गर्न नसक्दा व्यवहारमा जटिलता आएको बताउनुभयो ।
सूचना प्रविधिको विकास बढ्दो भए पनि ऐन र कानुन पुरानै भइकाले कार्यान्वयनमा समस्या आएको उहाँले औल्याउनुभयो । मन्त्रालयले आफ्नो मातहतमा रहेका सबै निकायलाई चुस्त बनाउन आवश्यक ऐन र नीति परिमार्जन गर्नतर्फ केन्द्रित रहेको जानकारी दिनुभयो । “ऐन र कानुन पुराना भए, समय सापेक्ष बनाउन संशोधन गर्न लागेका छौँ” उहाँले भन्नुभयो, “केही आवश्यकताका आधारमा नयाँ ऐन ल्याउनुपर्ने देखिन्छ ।”
कार्यक्रममा व्यक्ताहरुले उठाएको मदिराजन्य विज्ञापनमा सरकार खुकुलो हुनुपर्ने मागमाथि मन्त्री गुरुङले सरोकारवालासँग छलफल गरेर लचिलो हुन सकिने धारणा व्यक्त गर्नुभयो । त्यस्तै, पछिल्लो समय विज्ञापन बजार खुम्चीदै गएको र मिडिया सञ्चालक बढ्दै गएकाले विज्ञापन व्यवस्थापनप्रति सरकार संवेदनशील रहेको मन्त्री गुरुङले प्रष्ट पार्नुभयो ।
विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बजार घटिरहेको अवस्था उल्लेख गर्दै सरकारले यसबारे स्पष्ट नीति तत्काल ल्याउन आवश्यक रहेको बताउनुभयो । विज्ञापन बजार पारदर्शी बनाउन विज्ञापन ऐजेन्सीहरुको पनि साथ चाहिने बताउनुभयो ।
मिडिया एलाइन्स नेपालका अध्यक्ष भास्करराज कर्णीकारले विज्ञापन बजार घटेर २० प्रतिशत पुगेको अवस्था दर्शाउदै विज्ञापन व्यवसाय बचाउन राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । त्यस्तै, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले विज्ञापन, मिडिया हाउस र श्रमजीवि पत्रकार एक अर्कासँग अन्तर सम्बन्धित रहेको हुँदा पत्रकारको रोजगारसँग जोडिएको विज्ञापन नीति सबैका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पत्रकारको जीविकोपार्जनसँग जोडिएको विज्ञापन बजार व्यवस्थित र लचिलो हुनुपर्ने धारणा राख्नुभयो ।