गुणबहादुर रोका
सुलीकोट, फागुन २३ गते । गोरखा–१ मा मतगणना सुरु भएको छ । केहीबेरअघि बसेको सर्वदलीय बैठकको निर्णयअनुसार गोरखा–१ को मतगणना सुरु भएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा साढे १२ बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गोरखा क्षेत्र नम्बर १ भौगोलिक रूपमा बिकट भएकाले पनि हेलिकाेप्टरबाट मतपेटिका सङ्कलन गर्न २ दिन लाग्दा मतगणना गर्न ढिला भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो ।
उत्तरी गोरखाको चुमनुबी गाउँपालिकाका २३ मतदान केन्द्रबाट मतपेटिका सेनाको हेलिकाेप्टरबाट आएपछि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मुख्य कमान्डर सुदन गुरुङ यही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेदेखि नै गोरखा क्षेत्र नम्बर १ लाई विशेष क्षेत्रको रूपमा हेरिएको छ ।
बिहीबार सम्पन्न निर्वाचनमा गोरखामा कुल १ लाख २१ हजार २६३ मत खसेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । गोरखा–१ मा ६३ हजार पाँच र गोरखा २ मा ५७ हजार २५८ मत खसेको कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताउनुभयो ।