• १९ असार २०८१, बुधबार

‘एक हप्तामा सिसडोललाई दुर्गन्धमुक्त बनाउँछौँ’

blog

काठमाडौं, जेठ २० गते। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले एक हप्ताभित्रै नुवाकोटको सिसडोललाई दुर्गन्धमुक्त बनाउने बताउनुभएको छ।  शुक्रबार महानगरपालिकाको टोलीसहित सिसडोल पुग्नुभएका मेयर शाहले यस्तो बताउनुभएको हो। लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्या हल नभएपछि महानगरको नगरप्रमुख शाह र उपप्रमुख सुनिता डंगोलसहितको टोली अवलोकनका लागि शुक्रबार बिहान सिसडोल पुगेको थियो। 

सिसडोल पुगेको टोलीसँग स्थानीयले गुनासो पोखेका थिए। ‘सिसडोल क्षेत्रलाई हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था हुन्छ। केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ’’, प्रमुख शाहले भन्नुभयो। 

स्थानीयको समस्या र गुनासो सुनेपछि तत्काल आफूलाई काम गर्ने वातावरण मिलाइ दिन स्थानीय समुदायसँग नगरप्रमुख शाहले आग्रह  गर्नुभएको छ। उहाँले भन्नुभयो, “म कुनै पार्टीको मानिस होइन, काम गर्न आएको स्वतन्त्र व्यक्ति हो, मैले काम गर्न कसैसँग साँठगाँठ गर्नुपर्दैन, काम गर्न त दिनुपर्यो, काम गरेको चार दिन मात्र भएको छ, काम गर्न दिएपछि मात्रै काम हुन्छ”, सिसडोलबासीलाई सम्झाउँदै उहाँले भन्नुभयो।

काम गर्नलाई सहजीकरण गरी दिनका लागि हिजो (बिहीबार) मात्रै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग छलफल गरेको पनि शाहले बताउनुभएको थियो। 

“काममा सहजीकरण गरी दिन भन्दै हिजो मात्रै गएर छलफल गरेको थिएँ, त्यसैले थाहा पाएँ, आज पनि विद्युत र खानेपानीको मानिसलाई बोलाएको छु,” उहाँले भन्नुभयो। फोहोरबाट गन्ध आएको गुनासोलाई सम्बोधन गर्दै ‘केमिकल’ राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन पनि प्रमुख साहले दिनुभएको छ। 

छलफलमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल भएको छ। 

केमिकल हालेर गन्ध हटाउन एक हप्ताको समय लाग्ने भन्दै उहाँले एक हप्तामा गन्ध नआउने बनाउन सकिने र केमिकल हाल्न आउने ट्रकलाई नरोक्न पनि स्थानीय बासीलाई आग्रह गर्नुभएको छ। 

फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि प्रमुख शाहले सुनाउनुभयो। त्यसका लागि सिसडोलमा होइन काठमाडौंबाटै फोहोर छुट्टिएर आउनुपर्ने र सबै काम गर्न तीन-चार महिनाको समय लाग्ने पनि बताउनुभयो। “फोहोर सिसडोलमा ल्याएर छुट्याउने होइन, काठमाडौं मै छुट्टिएको आउनुपर्छ,” शाहले भन्नुभयो। 

अबदेखि कुहिने र नकुहिने वस्तु छुट्टयाएर बिसर्जन गर्ने व्यवस्था मिलाउन र त्यसका लागि जनचेतना जगाउने काम गर्ने पनि उहाँको भनाइ छ। “पाँच मिनेट फोहोर छुट्याउन नदिएकाले मानिसले, मानिस मारिरहेको छ,” उहाँले भन्नुभयो। सिसडोलका स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाले आफूहरुले स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्ने माग गर्दै प्रहरी प्रशासन लगाएर दमन गरिएको गुनासो पनि प्रमुख शाहसँग पोखेका छन्।   

मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भएकाले फोहोर वा स्थानीयको उचित व्यवस्थापन हुनुपर्ने माग स्थानीयको छ। त्यसलाई दृष्टिगत गरेर आफूहरुले पनि फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने शाहले बताउनुभएको छ।