• ४ साउन २०८२, आइतबार

साफ यु–२० महिला च्याम्पियनसिप

नेपाललाई बङ्गलादेश पन्छाउने चुनौती

blog

नेपाली टोली । फाइल तस्बिर

काठमाडौँ, साउन ४ गते । साफ यु–२० महिला च्याम्पियनसिप उपाधिको सङ्घारमा उभिएको नेपालले अन्तिम खेलमा सोमबार घरेलु टोली बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाललाई उपाधि चुम्न बङ्गलादेशलाई हराउनै पर्ने बाध्यता छ । चार टोली सम्मिलित च्याम्पियनसिपमा बङ्गलादेशले पाँच खेलमा अपराजित रहँदै १५ अङ्क जोडेको छ ।

समान खेलमा यसअघि बङ्गलादेशसँग ३–२ को हार खेपेको नेपाल १२ अङ्कसहित दोस्रो स्थानमा छ । श्रीलङ्का र भुटान उपाधि होडबाट बाहिरिएका छन् ।

नेपाललाई उपाधि जित्न अन्तिम खेलमा बङ्गलादेशलाई पन्छाउनुपर्ने चुनौती छ । बङ्गलादेशलाई बराबरी मात्र काफी छ ।

यदि अन्तिम खेलमा बङ्गलादेशलाई पन्छाउन सके नेपालले महिला उमेर समूहमा महादेशीय उपाधि जित्ने छ । नेपालले यस अघिल्ले खेलमा भोगेको हारको बदला समेत लिने छ । 

डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । यस्तै भुटानलाई ६–१ र ८–० गोलले हराएको थियो ।

च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने प्रावधान रहेको छ ।