• ५ साउन २०८२, सोमबार

पाकिस्तानमा मनसुनी प्रकोप : मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो

blog

पाकिस्तानमा वर्षा र बाढी । तस्बिर : 'सिएनएन'

इस्लामाबाद, साउन ५ गते । मनसुनी वर्षाले गर्दा जुन २६ देखि मृत्यु हुनेको सङ्ख्या २१६ पुगेको छ भने ५८० जना घाइते भएको पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जियो टिभीले जनाएको छ ।

पाकिस्तानमा विगत २४ घण्टामा वर्षा र बाढीसम्बन्धी घटनाका कारण कम्तीमा १३ जनाको मृत्यु भएकोे सोमबार जियो टिभीले जनाएको छ।  

निरन्तर वर्षाका कारण बाढी र डुबान हुँदा धेरै मानवीय हताहती भएको हो । सबैभन्दा बढी मृत्यु बाढी र पहिरोका कारण घरहरू भत्किएर वा डुबानमा परेर भएको बताइएको छ भने केहीको चट्याङ र अन्य मौसमी विपत्तिका कारण भएको हो । 

पाकिस्तानको विपद् व्यवस्थापन निगरानी निकायले पछिल्लो २४ घण्टामा पन्जाबमा १२ र खैबर पख्तुनख्वामा एक जनाको मृत्यु भएको जनाएको छ । पीडितमध्ये चार बालबालिका र तीन महिला थिए। मनसुनी वर्षा सुरु भएदेखि १०१ जना बालबालिकाको मृत्यु भएको बताइएको छ । 

एनडिएमएले जारी गरेको विज्ञप्तिमा वर्षा सुरु भएदेखि लगभग ८०० घर ध्वस्त भएका छन् भने लगभग २०० जनावरको मृत्यु भएको छ ।  युएन न्यूजको हालैको रिपोर्ट अनुसार खैबर पख्तुनख्वा र गिलगिट बाल्टिस्तान क्षेत्रमा पनि हिमनदीको तालबाट बाढी आउने डर छ ।

सन् २०२२ मा मनसुनी बाढीले एक हजार ७०० भन्दा बढी मानिसको ज्यान लिनुका साथै लाखौँ व्यक्ति विस्थापित भएको र लगभग ४० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो । रासस