अमरराज नहर्की
तनहुँ, साउन ४ गते। वर्षाले गर्दा तनहुँ जिल्लामा पर्ने प्रमुख राजमार्ग, सहायक राजमार्ग तथा स्थानीय सडक सञ्जाल प्रभावित भएका छन्। लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै नदी, खोला र भिर पाखा नजिकका सडक क्षेत्रमा बाढी र पहिरोले थप जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
मादी, सेती, मस्र्याङदी, त्रिशूली, कालीगण्डकी नदी लगायत जिल्लाका स्थानीय खोलाहरुमा पनि पानीको सतह बढी जनधनको क्षति हुनसक्ने भएकोले नदी तथा खोला आसपास तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहनुहुन सूचित गरिएको छ।
पृथ्वीराजमार्ग, डुम्रे वेशीसहर सडकखण्ड लगायत ग्रामीण सडकमा सवारी साधन चलाउँदा उच्च सतर्कता अपनाउनुहुन र रातको समयमा अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्नुहुन र गर्ने परेमा नजिकको ट्राफिक प्रहरी र सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्नुहुन सर्वसाधारण र सरोकारवाला निकायहरुमा अनुरोध गरिएको छ।