गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ५ गते । सत्ताको नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । एमाले सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेको एमाले पार्टीको विधान मस्यौदा बारेमा केन्द्रीय सदस्यहरूले सुझावसहितको धारणा राख्ने क्रम जारी छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरू भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको भनाइ छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजीतिमा सक्रिय हुने बताउनु भएपछि पार्टीभित्र तिव्र ध्रुवीकरण देखिएको छ । यद्यपि आइतबार अध्यक्ष ओली र भण्डारीबिच च्यासलमा डेढ घण्टा लामो छलफल र भेटवार्ता भएपछि समस्या समाधान भएको मानिएको छ ।
बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव पेस गर्ने कार्यसूची छ । त्यसैगरी महासचिव शङ्कर पोखरेलले पेस गर्नुहुने साङ्ठनिक प्रतिवेदनमाथि समेत छलफल हुने छ । साउन २ र ३ गते एमालेको पोलिटब्युरो बैठकबाट विधान संशोधनको प्रस्ताव पारित भएको थियो ।
बैठकमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यबाहेक २३० केन्द्रीय सदस्यले धारणा राख्ने बताइएको छ । केन्द्रीय सदस्यहरू सबैले धारणा राखेमा बैठक लम्बिन सक्ने बताइएको छ । विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारीमा ७० वर्षे उमेर हद र एकै पदमा दुई कार्यकाल बस्न नपाइने व्यवस्था हटाउने प्रस्ताव रहेको छ ।
एमालेको विधान महाधिवेशन आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । केन्द्रिय कमिटी बैठक दुई दिनका लागि तय भए पनि धारणा राख्नेक्रम लम्बिएमा बैठक पनि एक दिन थप लम्बिन सक्ने एमाले नेताहरूको बुझाइ छ ।