काठमाडौँ, साउन ५ गते । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी कृषकहरूलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरू भएको बताउनुभएको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दे मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानहरूको जीवनस्तर सुधार लाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।
मन्त्री अधिकारीले यो अवधिमा आफ्नो सोच अनुरूपका सबै काम गर्न नसके पनि मेरो प्रयास मुलुकको समग्र कृषि क्षेत्रको सुधार र किसानका पक्षमा रहेको यस अवधिमा म र मन्त्रालयमार्फत भएका निर्णयहरूले पनि पुष्टि गरेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो र लाखौं नेपालीको जीविकोपार्जनको आधार हो। यसैलाई मध्यनजर गर्दै मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानहरूको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएका छौँ ।
यस अवधीमा विगत लामो समय देखि समस्याका रूपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको, जसमा रासायनिक मल खरिदसम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधि संशोधन गरिएको र यसबाट रासायनिक मल आपूर्ति तथा वितरण व्यावस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।
विगत ७ वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारीहरूको समायोजन अनुसारको सङ्गठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरी सङ्गठन सुदृढ तथा व्यवस्थापन गरिएको, बिउबिजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको , कृषि तथा पशुपक्षी बिमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको जस्ता यस अवधीमा गरिएका कामहरू मन्त्री अधिकारीले बताउनुभयो ।
त्यस्तै, कृषि क्षेत्रको एकीकृत कानुनको रूपमा रहेको कृषि विधेयक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भइ मन्त्री परिषदमा लैजाने अन्तिम तयारी रहेको, त्यसैगरी, पशु कल्याण ऐनलाई पनि अन्तिम रूप दिइएको पनि मन्त्री अधिकारीले जानकारी गराउनुभयो ।
केही वर्षदेखि थन्किएर रहेको खाद्य गुणस्तर परीक्षण गर्ने चार वटा मोबाइल भ्यान सञ्चालनमा आएको छ। नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्न उच्चस्तरीय कार्यदल गठन गरी कार्य भइरहेको, कृषि सम्बन्धी प्रविधिहरूको दर्ता, कृषि प्रविधि प्रसार एवं हस्तान्तरणको संस्थागत संरचना निर्माण गर्ने नीतिगत निर्णय गरी यसको कार्यान्वयनलाई समेत सहयोग पुग्ने उद्देश्यले नेपाल राष्ट्र बैँकमा आवश्यक पहल गरी आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिमा नार्कका सिफारिस प्रविधिहरूमा कर्जा प्रवाह सहजीकरण गर्ने व्यवस्था समावेश गरिएको छ, मन्त्री अधिकारीले भन्नुभयो ।
मन्त्री अधिकारीले उल्लेख गर्नुभएको प्रमुख उपलब्धिहरू यस्ता छन :
- जीवनाशक विषादीको गुणस्तर परीक्षण तथा अनुसन्धान प्रयोगशाला सञ्चालनार्थ क्वारेन्टाइन केन्द्र, प्रदेश सरकार, विश्वविद्यालयलगायत सरोकारवाला संस्थाहरूसँग परामर्श र समन्वय गर्नेगरी आवश्यक संरचना, मोडेल र कार्यक्रमबारे नीतिगत निर्णय भई प्रक्रिया अघि बढाइएको छ ।
- दुग्ध विकास संस्थान (डिडिसी) सम्बन्धी अध्ययन गरी पूनःसंरचना एंव व्यावसायिक सुधारका लागि २३ बुँदे कार्ययोजना तथा सञ्चालन मोडालिटी तयार भएको छ। चीनमा दुग्ध पदार्थ र मासु निर्यातका लागि भन्सार सहजीकरण सम्बन्धी कार्य गरिएको छ ।
- खोरेत रोग मुक्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त पहलमा कोशी प्रदेशको इलाम जिल्लाका ३ वटा क्षेत्रमा जोनिङ्ग तथा कम्पार्टमेन्टलाइजेसन कार्य थालनी भएको छ। यसबाट पशुजन्य पदार्थ (मासु, दुध, छुर्पी, घिउ) को अन्तर्राष्ट्रिय बजार पहिचान गर्न महत्त्वपूर्ण रहने विश्वास लिएको छु ।
- रैथाने बालीको संरक्षण, प्रवर्धन एवम् यसको महत्त्वको प्रचार प्रसार गर्न मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदको बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।
- यसअघि हिमाली क्षेत्रको आनुवंशिक स्रोत तथा र्दुलभ हुँदै गएको याकको संरक्षणका लागि वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने घोषण गरी पहिलो राष्ट्रिय याक दिवस मनाइएको छ।
- बिउ बिजनसँग सम्बन्धित दर्ता, अनुमतीपत्र नवीकरण, प्रमाणीकरणलगायतका कार्य अनलाइन मार्फत सञ्चालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावकारी बनाइएको छ ।
- गत मङ्सिरदेखि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला अन्तर्गत पाँच वटा पशुपक्षी रोग प्रयोगशालाहरूमा ल्याबरेटोरी इन्फ्रमेसन म्यानेजमेन्ट सिस्टम सुचारु भएका छन्।
- राष्ट्रपतिबाट विभिन्न विधामा ७ प्रदेशका १४ जना उत्कृष्ट किसानलाई राष्ट्रिय उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित गरिएको छ। यसले कृषि पेशालाई सम्मानित बनाउन एवं युवा जनशक्तिलाई कृषि उद्यम प्रति उत्प्रेरित गर्ने मेरो बुझाई रहेको छ ।
- मन्त्रालय अन्तर्गतका निकायहरूमा नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदमा लामो समयदेखि रिक्त रहेका नेतृत्वदायी पदहरूमा सबल नेतृत्व प्रदान गरिएको छ ।
चालु आर्थिक वर्षका केही प्रमुख कार्यक्रम
चालु आर्थिक वर्षमा बाँदरलगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रम¸बाच्छी मात्र जन्मने विर्य (सेक्सड सिमेन) प्रविधि लागु गर्ने कार्यक्रम, प्रांगारिक कृषि प्रवर्धन र माटो स्वास्थ्य सुधार अभियान कार्यक्रम, निर्यातजन्य बाली-वस्तुहरू जस्तैः चिया, कफी, अलैंची, छुर्पी, आदिको उत्पादन वृद्धि, प्राङ्गारिक प्रमाणीकरण र निर्यात सहजीकरणजस्ता केही नवीन र परिणाममुखी कार्यक्रमहरू अघि सारेका छौँ । यसले कृषकको जीवनस्तर सुधारसँगै राष्ट्रिय कृषि प्रणालीलाई दिगो, व्यावसायिक र निर्यातमुखी बनाउन सघाउने विश्वास लिएको छ ।