गुणबहादुर रोका
सुलीकोट, असार ५ गते । गोरखाका चार पालिकामा एक लाख अलैँचीको बिरुवा निःशुल्क वितरण गरिएको छ । स्वाँरा संघन गाउँविकास केन्द्रले सिआएससँगको साझेदारीमा स्पाइस परियोजनाले उच्च मूल्य भएको नगदेबाली किसानलाई प्रोत्साहनस्वरुप एक लाख अलैँचीका बिरुवा वितरण गरिएको स्वाँरा संघन गाउँ विकास समितिका कार्यकारी निर्देशक सितारा श्रेष्ठले जानकारी दिनुभयो ।
स्वाँरा संघन गाउँ विकास समितिले असार ३० गतेबाट सुरु गरी साउन ५ गते जिल्लाका चार पालिका अजिरकोट गाउँपालिका, धार्चे गाउँपालिका, सिरानचोक गाउँपालिका र आरुघाट गाउँपालिकाका किसानलाई अलैँचीका बिरुवा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
चार पालिकाहरुमा उच्च मूल्य भएको नगदेबाली उत्पादन हुँदै आइरहेकाले उक्त पालिकामा अलैँची राम्रो उत्पादन हुने ठाउँ भएकाले पनि खेर गइरहेको जमिनको उपयोग गर्दै ठुलो परिमाणमा उत्पादन गरी किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले अलैँचीका बिरुवा वितरण गरिएको बताइएको छ ।
अलैँचीका बिरुवा रोप्नका लागि पालिकाहरुसँग समन्वय गरेका छौं, कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘किसानले लगाएको अलैँची बिरुवा सारेदेखि फल्ने बनाउने र त्यसलाई फलेपछि सुरक्षित भण्डारण गरी बिक्री गर्न पनि स्वाँरा संघन गाउँविकास समितिले जिम्मा लिनेछ ।’
अहिले स्वाराँ संघन गाउँविकास समितिले अलैँची किसानलाई अलैँची कसरी सार्ने, अलैँचीको खेती कसरी गर्ने, रोग किराको उपचार, उत्पादन र बिक्रीसम्मको ज्ञान सीप उपलब्ध गराइसकेको उहाँको भनाइ छ । उच्च मूल्य भएको नगदेबाली प्रवर्द्धनमा पनि स्वाँरा संघन गाउँविकास केन्द्रले सहयोग र समन्वय गर्ने उहाँले बताउनुभयो ।
बिरुवा वितरणले पर्यावरण तथा पारिस्थितिकीय प्रणाली सुधार, वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्यकरण, भूक्षय तथा कटान रोकथामलगायत आर्थिक उपार्जनमा टेवा पुग्ने अपेक्षा गरिएको पालिकाहरुले बतएका छन् ।