• ११ चैत २०८१, सोमबार

गुणस्तरीय चलचित्र निर्माणमा जोड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्न सके विदेशीभन्दा नेपाली चलचित्र चल्ने बताउनुभएको छ । शनिबार आठौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गतको ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग चलचित्रका कुरा’ विषयक छलफलमा मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । उहाँले चलचित्र बनाउने विषय निर्माताको मात्रै नभएर समग्र चलचित्र उद्योग र देशसँग जोडिएको बताउनुभयो । एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक र कलाकारसहित समग्र मुलुकलाई फाइदा हुने उहाँले बताउनुभयो । 

उहाँले विश्वसम्पदा सूचीमा समावेश भएका नेपालका धरोहरलाई समेटेर चलचित्र उद्योगी अघि बढ्न सकेको अवस्थामा नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याई त्यसबाट लाभ लिन सक्ने बताउनुभयो । चलचित्रकर्मी साँघुरो मानसिकताभन्दा माथि उठेर फराकिलो सोच राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालको चलचित्र क्षेत्रमा लगानी गर्न आउनेलाई सहज वातावरण बनाउन सदैव तयार रहेको बताउनुभयो । निर्माताले चलचित्र राम्रो चल्ने वातावरण बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताउँदै राज्य सबैको अभिभावक रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “चलचित्र राम्रो चल्दा सबैलाई सहज हुने र आम्दानीको स्रोत अगाडि बढ्ने छ ।” चलचित्र निर्माणका लागि मन्त्रालय आउँदा सधैँ सबैका लागि ढोका खुला रहने पनि उहाँले बताउनुभयो । उहाँले नीति नियमसहित चलचित्र खिच्न अनुमति लिने, भाषा र मन्त्रालयगत काममा कुनै पनि ढिला नहुने बताउनुभयो । मन्त्री पाण्डेले चलचित्रबाट देशभक्तिको गाथा उजागर गर्ने गरी राज्यले समेत सोच्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले निराशा र नकारात्मकको भाष्य नभई मुलुक बन्छ भन्ने भाष्यसहित चलचित्र क्षेत्र अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण निमा काफ्ले गर्नुभएको थियो ।