• ८ चैत २०८१, शुक्रबार

भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ।

काठमाडौं, चैत ८ गते । नेकपा (एमाले)  का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेकपा (एमाले) सहरी विकास विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्ने बताउनुभएको हो ।

उहाँले विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका दुई मुलुकको बीचमा नेपाल रहेको भन्नुहुँदै ढङ्ग नपुग्दा सार्वभौमसत्ता, अखण्डता र स्वाधिनताका कायम राख्न कठिन हुने बताउनुभयो । उहाँले राजावादीको आन्दोलनतर्फ इङ्गित गर्नुहुँदै वर्तमान अवस्थामा नेपालको राष्ट्रिय शक्तिहरुलाई छिन्नभिन्न गराउने किसिमले कुनै शक्ति लागिरहेको बताउनुभयो । उहाँले नेकपा (एमाले) ले पार्टीको नीति निर्देशन र उद्देश्य मात्र नभइ समग्र राष्ट्रको समृद्धिका लागि सबै पक्षहरुलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतिपय कुराहरु पार्टीगत ढङ्गले गरिएको भन्दा पनि अलि पृथक ढङ्गले सोच्नुपर्ने हुन्छ, देश निर्माण गर्ने खालका कुरा, पार्टीको एउटा भिजन छ । तर त्यो भिजनबाट निर्देशित भएर अगाडि बढ्ने हो । यो सँगसँगै अन्य सम्भव भएका सबै पक्षहरुलाई समेट्ने हिसालबे हामी जानुपर्ने हुन्छ । त्यो योग्यतापूर्वक गर्न सकियो भने मात्र हामी ठिक ढङ्गले अगाडि बढ्न सक्छौँ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले अधिकार प्राप्तिको लडाइँ सकिएकाले राष्ट्रमा समृद्धि प्राप्तिको अभियानमा एमाले लागेको बताउनुभयो । उहाँले एमाले राष्ट्रिय निर्णायक शक्ति बन्ने उद्देश्य राखेर अगाडि बढेको बताउनुभयो ।

एकीकृत विकाससम्बन्धी कार्यपत्र 

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा सहरी विकास विभागका प्रमुख शेरबहादुर तामाङले काठमाडौं उपत्यका : एकीकृत विकास भिजनसम्बन्धी १६ बुँदे कार्यपत्र प्रस्तुत गर्नुभयो । नेता तामाङले प्रस्तुत गर्नुभएको कार्यपत्रमा मुख्यगरी प्रस्तुत भएका विषय यस्ता छन् ।

काठमाडौं मेट्रो

उहाँले ३० लाख जनसङ्ख्या पुगेको सहरमा मेट्रो आवश्यक हुने विभिन्न अनुसन्धानले देखाएको भन्नुहुँदै  टुँडिखेलमा निर्माण गरिने अण्डर ग्राउण्डको अन्तिम चौथो तलामा मेट्रो स्टेसन बनाउने र सो स्टेसनबाट सिंहदरबार, थापाथली, न्युरोड, असन, ठमेल, बागबजार आदि क्षेत्रमा जाने अण्डरग्राउण्ड बाइपास बनाउनुपर्ने विषय उल्लेख छ । 

नो डम्पिङ साइट

कुहिने फोहोर अर्थात् खाद्य पदार्थलाई दैनिक बेलुका ९ बजेपछि सङ्कलन गर्ने, ल्याण्डफिल्ड साइटलाई छुट्याएको जग्गालाई उपत्यकाका नगरपालिकाहरु मिलेर बंगुर फार्म विकास गर्ने लगायत दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनका रणनीति यस अन्तर्गत छन् । 

आउटर रिङरोड

यस अन्तर्गत उपत्यकाको भित्ता–भित्ता भएर आउटर रिङरोड अनिवार्य बनाउनुपर्ने र यसले २० लाख जनसङ्ख्यालाई काठमाडौंले थेग्ने योजना रहेको जनाइएको छ । 

युटिलिटी करिडोर

यस अन्तर्गत मेट्रो लाइनको विस्तारसँगै खानेपानी, बिजुली, टेलिफोन, फाइबर नेट, ग्याँस पाइपलाइन लगायतलाई एउटै बाटो निर्माण गर्ने लगायतका योजना छन् । 

टुँडीखेलको पुनः संरचना

रानीपोखरीदेखि रङ्गशालासम्मको क्षेत्र पुरै चार तला अण्डरग्राउण्ड निर्माण गर्ने, बाहिर ग्राउण्ड पुरै हरियाली र फूलैफूलको बगैँचा निर्माण गर्ने योजना छन् । 

काठमाडौंमा पानी रिचार्ज

काठमाडौं उपत्यकाका सबै पालिकाहरुले सबै घरहरुलाई दुई वर्षभित्र अनिवार्य जमिनमुनि पानी पुनः भरण प्रणाली जडान गर्ने कार्यक्रम लागू गर्नुपर्ने बताइएको छ । नयाँ नक्सापास गर्दा सो प्रणालीसहित मात्र नक्सा पास गर्ने कार्यविधि बनाउनुपर्ने लगायतका विषय उल्लेख छ । 

सुन्दरीजलमा ताल

काठमाडौं उपत्यकालाई सुन्दर र बागमतीमा सफा कञ्चन पानी बगाउन सुन्दरीजलमा ताल बनाउनुपर्ने योजना उल्लेख छ । 

सेफ्टी टंकी

काठमाडौं उपत्यकाका सबै घरहरुमा दिसापिसाबको लागि सेफ्टी टंकी अनिवार्य गर्ने, नुहाउने, लुगा धुने, भाँडा धुने र अन्य सफाइको पानी एउटा नालीबाट ढलमा र दिसापिसाबलाई अर्को नालीबाट सेफ्टी टंकीमा जाने प्रणाली जडान गर्न लगाउने आदि योजना छन् ।

क्रसिङ व्यवस्थापन

उपत्यकामा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको ट्राफिक जाम र समय व्यवस्थापनको समस्या सरलीकरण गर्न तत्काल कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, बालाजु, महाराजगञ्ज, सुकेधारा, चाबहिल, नयाँ बानेश्वर, गौशला, थापाथली, त्रिपुरेश्वरजस्ता चोकहरुमा अण्डरपास, ओभरपास र वाइपास बनाउने लगायतका योजना छन् ।


सुन्दर काठमाडौं

सडकलाइनमा रहेका सबै घरहरुले वर्षको एक पटक अनिवार्य रुपमा सडक फेसतर्फ रङ्ग लगाउनुपर्ने नियम उपत्यकाका सबै नगरपालिकाहरुले बनाउने र लागू गर्ने, सम्भव भएसम्म एउटा सडक लाइनमा एकै रङ्ग लगाउने व्यवस्था गर्ने लगायतका योजना रहेका छन् । 

सुरुङ मार्ग

उपत्यकाको जनसङ्ख्याको चापलाई घटाउन थानकोट–नागढुङ्गा झ्याप्लेखोला सुरुङ मार्ग निर्माण अन्तिम चरणमा रहेको योजनामा बताइएको छ । साँखु–फट्केश्वर, भक्तपुर–पाँचखाल, ललितपुर–पनौती, थानकोट–हेटौंडा र चितलाङ सुरुङ मार्ग निर्माण गर्नुपर्ने योजना रहेको बताइएको छ । 

नमुना बागबजार

रत्नपार्कदेखि पुतलीसडक दक्षितर्फ र बसपार्कदेखि शंकरदेवसम्मको बागबजारलाई नमुनाको रुपमा पुनःसंरचना गर्नुपर्ने लगायतका योजना उल्लेख छ । तामाङले योजना तथा प्रस्ताव अघि सारेर मात्र नहुने यसको कार्यान्वयनका लागि ईच्छाशक्तिको अभाव, कानुनी अड्चन, कार्यान्वयन निकायमा अन्यौलता, बजेट अभाव र नागरिकका अविश्वास र विरोध जस्ता चुनौतीहरु रहेको बताउनुभयो । यद्दपि, राजनीतिक नेतृत्वले एकीकृत सहरी विकास नीनि, ऐन लगायतका माध्यमबाट यसको कार्यान्वयन गर्न सक्ने उहाँको भनाइ छ । 

कार्यक्रममा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले यस किसिमको योजना कार्यान्वयनका लागि निजी क्षेत्रमा जानुको विकल्प नरहेको बताउनुभयो । तामाङले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि सहरी विकास मन्त्रालयका पूर्वसचिव मणिराम गेलाल र इन्जिनियर सरोज बस्नेतले टिप्पणी राख्नुभयो । एकीकृत सहरी विकासको योजना सबै राजनीतिक दलको अपनत्व बढाउनेगरी अगाडि बढाउनुपर्नेमा उहाँहरुले सुझाव दिनुभयो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।