काठमाडौँ, फागुन २८ गते । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ उपत्यका नेपाल भाषाका गीतले गुञ्जयमान हुन्छ । आपसमा रङ लगाएर सम्बन्ध सुदृढ गर्ने रङ्गोत्सवमा नेपालीसँगै यहाँ रहेका विदेशी पर्यटक पनि सहभागी हुन्छन् तर यस पटक होलीलाई नै लक्षित गरी एक सय जना चिनियाँ फोटो पत्रकार र फोटोग्राफर पनि नेपाल आएका छन् ।
मित्रता, सद्भाव र प्रेम साटासाट गर्ने पर्व होलीमा सहभागी हुन र रङ्गोत्सवलाई आफ्नो क्यामरामा कैद गर्न उत्तरी छिमेकी चीनबाट एक सय जना फोटो पत्रकार र फोटोग्राफर नेपाल आएका हुन् । फागुन २९ गते अर्थात् बिहीबार होलीपर्व मनाउने तयारीस्वरूप फागुन २३ गते वसन्तपुरमा चीर ठड्याइएको छ । यससँगै होलीको उल्लास सुरु भएको छ ।
संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको टोली नेपाल आएको हो । सरकारले पर्यटन प्रवर्धनमार्फत आर्थिक विकासको अवधारणा अनुसार पर्यटक आकर्षित गर्न चरणबद्ध कार्यक्रम गरिरहँदा होलीपर्वलाई लक्षित गरी चाइना–नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहले चीनको पत्रकार टोलीलाई निमन्त्रणा गरेको हो ।
चीनको विभिन्न प्रान्तबाट आएका फोटोग्राफरले नेपालको रङ्गीन पर्वलाई विश्वसामु पुर्याउने आयोजकको विश्वास छ । नेपाल र चीनबिच प्राचीनकालदेखि सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहिआएको छ । पछिल्लो दशकमा चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भइरहँदा होलीपर्वको उल्लाससँग फोटो पत्रकार पनि जोडिएका हुन् ।
‘होलीको पर्खाइमा छौँ’
चीनका विभिन्न सञ्चार माध्यममा काम गरिरहेका फोटो पत्रकार र फोटोग्राफर भ्रमण टोलीमा सहभागी छन् । पिन्जाओ फोटो एसोसिएसनका उपाध्यक्ष तथा फोटोग्राफर सुसेले रङको पर्व होलीलाई बुझ्ने मौका पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आफू नेपाल र नेपालको संस्कृतिप्रति माया गर्ने भएकाले नेपाली कला, संस्कृति र पर्यटकीय क्षेत्र मनपर्ने बताउनुभयो ।
२० वर्षदेखि नेपाल आउने–जाने गरेको बताउँदै उहाँले नेपालको संस्कृतिलाई चीनमा धेरैभन्दा धेरै प्रचार गर्ने इच्छा रहेको जानकारी दिनुभयो । नेपालबारे फोटो पुस्तक प्रकाशन गरिसक्नुभएका सुसेको नेतृत्वमा फोटोग्राफर टोली नेपाल आएको हो । उहाँले भन्नुभयो, “धेरै साथीहरूले फागुको रङ देख्नुभएको छैन, त्यसैले होलीको दिनको पर्खाइमा छौँ ।”
राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तका अनुसार ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन’ कार्यक्रम अन्तर्गत टोली नेपाल आएको हो । उहाँले भन्नुभयो, “चिनियाँ चर्चित फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवर्धन गर्ने छन् । फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रङमय नेपालको फोटो खिच्ने छन् ।”
उहाँका अनुसार होलीका दिन चिनियाँ टोली बिहान ८ बजे वसन्तपुर पुग्ने कार्यक्रम छ । सबै जनाले रङको पर्व होली खेल्ने र फोटो खिच्ने छन् । त्यसपछि टोलीलाई तीन समूहमा बाँडेर भक्तपुर, ललितपुर र काठमाडौँको होलीपर्वलाई अवलोकन गर्ने र फोटो खिच्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । वन्तका अनुसार ती फोटाहरू चीनमा प्रदर्शनी गरिने तथा अनलाइनमा राखिने छ । नेपालको संस्कृति र परम्पराको फोटोमार्फत प्रचारप्रसार गरी नेपालको पर्यटन क्षेत्रलाई विकास गर्ने मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ ।
यो कार्यक्रम नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका अवसरमा गरिएको हो । नेपालको पर्यटन प्रवर्धनका लागि यो एक महìवपूर्ण अवसर हुने जनाइएको छ । नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपाल पर्यटनलाई नयाँ उचाइमा पुर्याउन यस्तो कार्यक्रमले विशेष योगदान पुर्याउने विश्वास लिइएको छ ।