सर्लाही समाचारदाता
सर्लाही, फागुन २५ गते । सर्लाहीका दुई वटा चिनी उद्योगले यस वर्षको क्रसिङ बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि बन्द हुने तरखरमा छ । जिल्लाको दक्षिणी क्षेत्रस्थित महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकोलले चालु सिजनका लागि उखु क्रसिङ बन्द गरेका हुन् ।
शनिबार बिहानबाट बन्द भएको अन्नपूर्ण चिनी उद्योगले नौ लाख २१ हजार क्विन्टल उखु क्रसिङ गरेको उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले जानकारी दिनुभयो । महालक्ष्मी चिनी उद्योग बगहद फागुन २१ गतेबाटै बन्द भएको उद्योगका प्रशासकीय प्रबन्धक शिवशङ्कर कुशवाहाले जानकारी दिनुभयो । कुशवाहाका अनुसार महालक्ष्मीले यस वर्ष १३ लाख ८० हजार १०४ क्विन्टल उखु क्रसिङ गरेको छ ।
अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योगले किसानको बाँकी भुक्तानी चैत तेस्रो साताभित्र भुक्तानी दिइसक्ने बताएका छन् । दुवै उद्योगले माघसम्मको भुक्तानी दिइसकेको दाबी गरेका छन् ।
हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले भने फागुन २७ गतेसम्म उखु क्रसिङ गरेर मिल बन्द गर्ने जनाइएको छ । उद्योगका उखु प्रबन्धक योगनारायण रजकले उद्योगमा जतिसक्दो चाँडो उखु ढुवानी गरिसक्न किसानलाई अन्तिम पटकको सूचना जारी गरिसकिएको र २७ गतेबाट उद्योग बन्द हुने बताउनुभयो ।
किसानले उखु ल्याउन छाडेपछि इन्दुशङ्कर चिनी उद्योग विगत एक सातादेखि ‘नो क्यान’ मा सञ्चालन भइरहेको उखु प्रबन्धक रजकले बताउनुभयो । उहाँका अनुसार उद्योगले २९ लाख ३१ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ ।
फागुन २७ गते उद्योग बन्द गर्ने बेलासम्म उखु क्रसिङ ३० लाख क्विन्टलसम्म पुग्ने इन्दुशङ्कर चिनी उद्योगले जनाएको छ । यस वर्ष उखु उत्पादन घटेकाले हरेक चिनी
उद्योगले किसानलाई एक हप्तादेखि १० दिनभित्रैमा भुक्तानी गरेका छन् ।
उद्योगबाट भुक्तानी लिन यस वर्ष खासै समस्या नरहे पनि सरकारले प्रदान गर्ने प्रतिक्विन्टल ७० रुपियाँ भने अनिश्चित नै रहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले गुनासो गर्नुभयो ।
एभरेस्ट चिनी मिलमा पनि समस्या
महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलमा आवश्यक उखु आपूर्ति हुन नसक्दा मिल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।
महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार पूर्ण क्षमता अनुसार मिल सञ्चालन हुन दैनिक ४५ हजार क्विन्टल उखु आवश्यक पर्छ । त्यसबाहेक पनि कारखाना परिसरमा १० हजार क्विन्टल उखु जगेडा चाहिन्छ । यसबिच आवश्यकताको आधा पनि उखु आपूर्ति हुन नसक्दा क्रसिङ प्रभावित भएको हो । यस वर्ष एभरेस्टले मङ्सिर २६ गतेदेखि क्रसिङ सुरु गरेको थियो । सुरुमा शीतलहरले गर्दा क्रसिङ प्रभावित भयो भने फागुन तेस्रो सातादेखि उखु आपूर्ति दैनिक १५ हजार क्विन्टलमा झरेको छ ।
कम्पनीका महाप्रबन्धक विनोद यादवले शनिबारसम्म क्रसिङ सुरु भएको ९० दिन पुगेको छ । यस अवधिमा सुरुका केही दिन मात्र कारखानाले पूर्ण क्षमतामा चिनी उत्पादन गरेको उहाँले जनाउनुभयो ।
उहाँले भन्नुभयो, “यसबिच उखुको कमीले २३ दिन क्षमता घटाएर ‘लो क्रसिङ’ गर्नु पर्यो । त्यसपछि ‘नो केन’ ले गर्दा १३५ घण्टा उत्पादन ठप्प भयो । पछिल्लो तीन दिनदेखि दिनभर उखु जम्मा गर्ने र रात परेपछि बढीमा १० घन्टा मात्र क्रसिङ गर्न सकिएको छ ।”
आवश्यक उखु आपूर्ति हुन न सकेपछि मिलले तीन दिनअघि सार्वजनिक सूचना जारी गरी बाँकी रहेका उखु सक्दो छिटो उपलब्ध गराउन किसानलाई आग्रह गरेको छ । उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार किसानका खेतमा उखु सकिँदै गएकाले उखु आपूर्तिमा कमी आएको हो । किसानले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्नुपर्ने माग गर्दै आएका छन् । सरकारले भने कारखानाले दिँदै आएको साबिक ५४० रुपियाँमा २० रुपियाँ मात्र वृद्धि गरी प्रतिक्विन्टल ५६० रुपियाँ तोकेको छ ।
उखु कृषकले भने यो वृद्धिप्रति असन्तुष्टि जनाएका छन् । मूल्य असन्तुष्टिले उखु खेतीप्रति किसनहरूको मोहभङ्ग हुँदै गएकाले त्यसको असर चिनी कारखानाको उत्पादनमा परेको अध्यक्ष कुशवाहाले जनाउनुभयो ।