राममणि दाहाल
मकवानपुर (हेटौँडा), फागुन १६ गते । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिव रवि थापाको आत्महत्यापछि बागमती प्रदेशसभा प्रतिनिधित्व गर्ने दलहरूले मन्त्री श्रेष्ठको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।
धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ९ निवासी थापाको आत्महत्या प्रकरणमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी)ले मन्त्री श्रेष्ठको राजीनामासँगै संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् ।
मन्त्री श्रेष्ठका स्वकीय सचिव ३६ वर्षीय थापाले यही फागुन १३ गते काठमाडौँस्थित एक साथीको डेरामा विष सेवनपछि अचेत अवस्थामा फेला पारी अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । गत शुक्रबार मन्त्रीसँगै थापा काठमाडौँ गएका थिए ।
बागमती प्रदेशसभा संसदीय दलका माओवादी केन्द्रका प्रमुख सेचतक रत्नप्रसाद ढकाल, राप्रपाका प्रमुख सचेतक कुमारी तामाङ र नेकपा एसका प्रदेश सदस्य वसन्तप्रसाद मानन्धरले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै थापाको असामयिक एवम् अकल्पनीय मृत्युको खबरले आफूहरू स्तब्ध भएको जनाउनुभएको छ ।
मृतक थापाको अकल्पनीय मृत्युपछि प्रहरीले फेला पारेको आत्महत्यासम्बन्धी मृतकको स्वलेख (सुसाइड नोट) भनिएको पत्र तथा सहकारीसम्बन्धी मृतक रविको बाहिरिएको अडियो रेकर्डमा सहकारी मन्त्री श्रेष्ठलगायत नेताहरूको समेत नाम सुनिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आसय सार्वजनिक भएकाले घटनालाई रहस्यमय बनाएको प्रदेशसभामा विपक्षी दलहरू माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादले जनाएका छन् ।
यस घटनालाई आफ्नो पार्टीले गम्भीर रूपमा लिएका छौं भन्दै उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘‘उक्त घटनाको सबै पक्षवाट छानबिन हुन अत्यन्त जरुरी छ । हामी यस घटनाको निष्पक्ष छानबिनका लागि सहज वातावरण निर्माण गर्न मन्त्री मदुकुमार श्रेष्ठको राजीनामा माग गर्दछौं ।’’
साथै यस घटनाको प्रदेश स्तरमा संसदीय छानबिन समिति बनाई वास्तविकता बाहिर ल्याउनु पर्दछ, त्यसैले हामी प्रदेशसभाको बैठक अविलम्ब सञ्चालन गरी रवि थापा मृत्युसम्बन्धी सर्वदलीय संसदीय छानबिन समिति निर्माण गर्नका लागि प्रदेशसभा बैठक तत्काल सूचारु गरी छानबिन समिति गठन गर्न प्रदेश सरकार र सभामुख समक्ष माग गर्दछौं संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
मिडियावाजी गरी बार्गेनिङ गरियोः मन्त्री
उता मन्त्री श्रेष्ठले उक्त घटनामा भ्वाइस रेकर्डिङ र मिडियावाजी गरी बार्गेनिङ गर्ने कामभएको जिकिर गर्नुभएको छ ।
उहाँले सत्यको जित हुनेछ भन्दै मृतक थापाको भ्वाइस रेकर्डिङ र मिडियावाजी गरी बार्गेनिङ गर्नेलगायत दोषीलाई कानुनी दायरामा ल्याउने बताउनुभएको छ ।
उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको, ‘‘प्रिय भाइ रवि तिम्रो असामयिक बिदाइले मन अति नै भारी भएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयमा तिम्रो इमानदारिता, मेहनत र समर्पणको गहिरो छाप सधैँ रहने छ । तिमीले आफ्नो कर्तव्यनिष्ठ सेवाबाट धेरैको मन जित्यौ, तर आज तिमी हामीबिच नरहनु पीडादायक छ ।’’
उहाँले अगाडि भन्नुभएको छ, ‘‘सत्यको जित हुनेछ । तिमीलाई बदनामी गर्न तिम्रो भ्वाइस रेकर्डिङ र मिडियावाजी गरी बार्गेनिङ गर्ने लगायत जो सुकै भए पनि कानुन बमोजिम दोषी ठहर्ने जो कोहीलाई छोड्ने छैन । यो एउटा दाइको बाचा भयो ।’’
पूर्व मुख्यमन्त्री जम्कट्टेलद्वारा छानबिनको माग
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्री श्रेष्ठको स्वकीय सचिव थापा मृत्यु प्रकरणको छानबिनको माग गर्नुभएको छ ।
उहाँले उक्त घटना पत्याउनै गाह्रो भएको भन्दै यो अवस्था कसरी सिर्जना भयो भनी सामाजिक प्रश्न गर्नुभएको छ ।
उहाँले थापाको दुःखद् निधनले स्तब्ध बनाएको भन्दै धादिङले एउटा होनहार युवा गुमाएको छ, यो परिस्थिति कसरी सृजना भयो राम्रोसँग छानबिन होस् भन्नुभएको छ ।