काठमाडौँ फागुन १५ गते । बौद्धिक सम्पत्ति अन्तर्गत रहेका ट्रेडमार्क र डिजाइनको दर्ता सङ्ख्या बर्सेनि बढ्दै गएको छ । पछिल्लो १० वर्षमा ३१ हजार २१६ ट्रेडमार्क दर्ता भएका छन् ।
उद्योग विभागका अनुसार १० वर्षको अवधिमा छ हजार ५५५ डिजाइन दर्ता भएका छन् । सो अवधिमा सबैभन्दा कम १६ वटा प्याटेन्ट दर्ता भएका छन् । ट्रेडमार्क र डिजाइनको तुलनामा प्याटेन्ट दर्ता न्यून रहेको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि आव २०८०/८१ सम्म सबैभन्दा धेरै स्वदेशी र विदेशी गरी ३१ हजार २१६ सङ्ख्यामा ट्रेडमार्क दर्ता भएका छन् । १० वर्षमा १५ हजार ९८२ स्वदेशी र १५ हजार २३४ विदेशी टे«डमार्क दर्ता भएका छन् । कम्पनीको ब्रान्ड मूल्य बढाउन, अरू व्यवसायलाई आफ्नो व्यापारिक ब्रान्ड बनाउन चोरी रोक्नुका साथै ब्रान्डका लागि हुन सक्ने कानुनी लडाइँको जोखिम न्यूनीकरण गर्न व्यवसायीले ट्रेडमार्क दर्ता गर्ने गरेका छन् ।
विभागका सूचना अधिकारी अर्जुनसेन ओलीले व्यवसायीले उत्पादनको छुट्टै ब्रान्ड कायम गर्न ट्रेडमार्क दर्ता धेरै हुने गरेको जानकारी दिनुभयो । आफ्नो उत्पादनको ब्रान्ड आफूले सुरक्षित गर्नु पर्छ, अरूले दिएपछि मुद्दा मामिला झन्झट हुने गरेकाले ट्रेडमार्क दर्ता बर्सेनि बढ्दै गएको उहाँको भनाइ छ ।
व्यवसायीमा ट्रेडमार्क दर्ता गर्नु पर्छ भन्ने सचेतना बढेकाले पनि दर्ता सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । विशेष गरी उद्योग र व्यापार क्षेत्रका वस्तु तथा सेवामा विभागले ट्रेडमार्क जारी गर्ने गरेको उहाँले जानकारी दिनुभयो । पछिल्ला पुराना फाइल क्लियर भएकाले पनि धेरै सङ्ख्यामा ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ ।
विभागका अनुसार चालु आव २०८१/८२ को सात महिनामा दुई हजार ३४ वटा ट्रेडमार्क दर्ता भएका छन् । आव २०८०/८१ मा स्वदेशी र विदेशी गरी छ हजार ५१ ट्रेडमार्क दर्ता भएका थिए । यस्तै आव २०७९/८० मा तीन हजार २५४ ट्रेडमार्क दर्ता भएकामा आव २०७८/७९ मा दुई हजार ९७९ दर्ता भएका थिए ।
यस्तै २०७७/७८ मा दुई हजार ४०३ ट्रेडमार्क दर्ता भएकोमा आव २०७६/७७ मा तीन हजार ६३ दर्ता भएका थिए । आव २०७५/७६ मा दुई हजार ४३१ दर्ता भएकोमा आव २०७४/७५ मा दुई हजार २७१ ट्रेडमार्क दर्ता भएका थिए । आव २०७३/७४ मा दुई हजार २८० दर्ता भएकोमा आव २०७२/७३ मा दुई हजार ३९८ टे«डमार्क दर्ता भएको विभागको तथ्याङ्क छ । यस्तै आव २०७१/७२ मा दुई हजार ७२ दर्ता भएकोमा आव २०७०/७१ मा दुई हजार चार ट्रेडमार्क दर्ता भएका थिए ।
यस्तै कुनै उद्यमीले उत्पादन गरेको वस्तुलाई मौलिक परिचय दिनका लागि ट्रेडमार्क बनाउने गरिन्छ । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिह्न, तस्बिर, आकार वा शब्दलाई ट्रेडमार्क भनिन्छ ।
डिजाइन भन्नाले कुनै प्रकारले तयार गरी बनाइएको वस्तुको छाँट रूप वा आकारलाई बुझिन्छ । यस्तै पेटेन्ट भन्नाले कुनै पदार्थ वा पदार्थ समूहको बनावट, सञ्चालन वा प्रसारको नयाँ उपाय वा तरिकासम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा उपयोगी आविष्कार बुझिन्छ ।
व्यवसायको बौद्धिक सम्पत्ति मानिने ट्रेडमार्कको महत्व र विश्वव्यापी प्रचलनबारे चेतना वृद्धिसँगै नेपालमा ट्रेडमार्क दर्ताको क्रम बढेको छ । धेरै उद्योगका एउटै ट्रेडमार्क परेका आधारमा उजुरी आएपछि विभागले कारबाही गर्ने गर्छ ।