• १२ फागुन २०८१, सोमबार

गोरखापत्र डिजिटल डे : ‘पत्रकार प्रविधिमैत्री बन्नुपर्छ’

blog

गोरखापत्र ‘डिजिटल डे’को अवसरमा उत्कृष्ट पत्रकारलाई सम्मान प्रदान गर्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, साथमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीलगायत अतिथि । तस्बिरः केशब गुरुङ

काठमाडौँ, फागुन १२ गते। गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानका उत्पादनलाई पाठकसम्म पुर्‍याउने माध्यम डिजिटल प्लेटफर्म भएको बताउनुभएको छ। गोरखापत्रको तेस्रो ‘डिजिटल डे’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सुवेदीले यस्तो बताउनुभएको हो। 

‘पत्रकारितामा प्रतिस्पर्धाको समय २४ घन्टाबाट २४ सेकेन्डमा खुम्चिएको छ। तर प्रतिस्पर्धाको मैदानमा करोडौं पाठकलाई गोरखापत्रका उत्पादन पढाउने माध्यम डिजिटल प्लेटफर्म नै हुन्’’, कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो। छोटो समयमा प्रतिस्पर्धा गर्नुपर्ने भए पनि पत्रकारिताको मैदान फराकिलो भएकाले पत्रकार प्रविधिमैत्री बन्नुपर्नेमा उहाँले जोड दिनुभयो। 


‘‘सूचनाका अनगन्ती माध्यम छन्। सूचना प्रविधिको विकासले धेरै रूपान्तरण र परिवर्तन ल्याएको छ। अब को पत्रकार र को पाठक भन्ने नै द्विविधाको अवस्था छ । अब पत्रकार प्रविधिमैत्री बन्नुपर्छ’’ कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो। 

अध्यक्ष सुवेदीले गोरखापत्र संस्थानको जनशक्ति र कार्यशैलीलाई प्रविधिमैत्री बनाउनुपर्ने चुनौती रहेको बताउनुभयो। उहाँले छापा प्रकाशनको मूल्य एक ठाउँमा भए पनि यसलाई अझ व्यवस्थित गरेर डिजिटल रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। 

यसैगरी संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थानले आफूलाई समयअनुसार प्रविधि सुहाउँदो बनाउनुपर्ने कुरामा जोड दिनुभयो। ‘‘हामी आफूलाई समय सुहाउँदो बनाउनुपर्छ। हामी व्यावसायिक बन्ने कुराबाट बञ्चित हुनु नपरोस् भनेर हामीले डिजिटल संस्करणलाई प्राथमिकता दिएका छौँ’’ महाप्रबन्धक ऐरीले भन्नुभयो।

उहाँले गोरखापत्रलाई डिजिटल बनाउने अभियानका लागि प्रशासनमा समेत एकीकृत कार्य प्रणाली प्रविधिको प्रयोग भइराखेको उल्लेख गर्नुभयो। उहाँले विश्वमा देखिएका नयाँ प्रविधिका आयामलाई उपयोग गर्दै जनशक्तिको क्षमता र विषयवस्तुको प्रस्तुतिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। 


कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी ।

‘‘विश्वमा देखिएका सबै आयामलाई उपयोग गर्न नसके पनि आवश्यकताअनुसार जनशक्तिको क्षमता विकासमा हामीले जोड दिनुपर्छ। समाचार सामग्रीका विषयवस्तुलाई पनि बलियो बनाउनुपर्ने आवश्यकता छ’’ उहाँले भन्नुभयो।  

महाप्रबन्धक ऐरीले गोरखापत्रले जनशक्तिको उच्चतम प्रयोग गर्न सके अरुले प्राप्त गर्न नसकेको उपलब्धि हासिल गर्न सक्ने दाबी गर्दै गोरखापत्र संस्थानका प्रकाशन नागरिकको आवाज बन्नुपर्ने बताउनुभयो। 

डिजिटल डे को अवसरमा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपाल दैनिकका निमित्त प्रधान सम्पादक भीमसेन थपलियाले शुभकामना दिनुभयो।  


कार्यक्रममा गोरखापत्र डिजिटल डेको अवसरमा गोरखापत्र अनलाइन प्रकाशनमा कार्यरत उत्कृष्ट पत्रकार तथा कर्मचारीका रूपमा यस वर्ष गिरिराज चौधरीलाई पुरस्कृत गरिएको छ। उहाँलाई कार्यकारी अध्यक्ष र महाप्रबन्धकले सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । 

कार्यक्रममा भाषाविद् शरदचन्द्र वस्ती र पत्रकार रविराज बरालले शीर्षक चयन र लेखन तथा वर्तमान अवस्थामा डिजिटल मिडियाको प्रयोग सम्बन्धमा प्रस्तुति दिनुभयो। 

गोरखापत्रका डिजिटल प्रमुख नारद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण गोरखापत्र अनलाइनका निमित्त सम्पादक लोकबहादुर (लक्की चौधरी) चौधरीले गर्नुभयो। कार्यक्रममा उपस्थित अतिथिलाई दि राइजिङ नेपाल डेली डटकमका संयोजक नन्दलाल तिवारीले स्वागत मन्तव्य राख्नुभयो। कार्यक्रममा गोरखापत्रका कानुनी सल्लाहकार सुशीला चौधरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भिमसेन थपलिया, विभाग, शाखा र प्रकाशनका  विभागीय प्रमुख र कर्मचारीको उपस्थिति थियो। 


‘गोर्खापत्र’ साप्ताहिक रूपमा प्रकाशन भएको ९५ वर्षपछि वि.सं. २०५३ साल फागुन १२ गते पहिलो पटक ‘दि राइजिङ नेपाल डेली’मा प्रकाशित समाचार सामग्री एचटीएमएलमार्फत इन्टरनेटमा उपलब्ध गराइएको थियो। सोही दिनलाई गोरखापत्र संस्थानले ‘गोरखापत्र डिजिटल डे’ मनाउन थालेको हो। 

तस्बिरः मनोजरत्न शाही, कविन अधिकारी  र केशब गुरुङ