विष्णुप्रसाद पोखरेल
दमक, फागुन ११ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भलिबल खेल ओझेलमा परेको बताउदै यसको प्रवर्धनमा लाग्न आग्रह गर्नुभयो । उहाँले यसका लागि कोशी प्रदेश सरकारले आवश्यक स्राेत साधन जुटाउन सहयोग गर्ने जनाउँदै यस्तो बताउनुभएको हो ।
नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको आयोजनामा आइतबारदेखि दमकको हिमालय माविको खेल मैदानमा शुरु भएको “मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८१” को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भलिबल खेल खेल्न ठूलो खेलमैदान आवश्यक पर्दैन,’’ उहाँले भन्नुभयो ।
भलिबल तथा खेलकुदको विकासका लागि प्रदेश सरकार योजनाबद्ध रुपमा अघि बढ्न तयार रहेको बताउदै सरोकारवालाहरुले यसका लागि पहलकदमी लिनुपर्नेमा उहाँले जोड दिनुभयो । राम्रो योजनाका साथ आउनुहोस् हामी आवश्यक सहयोग गर्न तयार छौं, उहाँले भन्नुभयो ।
प्रदेश खेलकुद विकास बाेर्ड, कोशी प्रदेश र कोशी प्रदेश र नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितालाई भलिबल सङ्घको व्यवस्थापन छ ।
आयोजक महासङ्घका कोशी प्रदेश अध्यक्ष राजकुमार थापाका अनुसार प्रतियोगितामा ७ वटा प्रदेशमध्ये कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ५ वटा टिम सहभागी हुनेछन् । यसैगरी नेपाल सशस्त्र प्रहरी क्लब, नेपाल प्रहरी क्लब र नेपाल त्रिभुवन आर्मी क्लब गरेर ३ विभागीय टिम पनि प्रतियोगितामा भिड्दैछन् ।
प्रतियोगिताको मुख्य विजेताले ५ लाख, उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले २० लाख रुपियाँ उपलब्ध गराउने बताइएको छ ।