• १० फागुन २०८१, शनिबार

मालढुङ्गा–बेनी सडक निर्माणले लियो गति

blog

सडक खण्डअन्तर्गत लामाखेतमा सडक निर्माणको काम गर्दै मजदुरहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन १० गते ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी काेरिडोर सडक आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणले गति लिएको छ । सडक निर्माणको जिम्मा लिएको निर्माण व्यावसायीको ढिलासुस्ती र लापरबाहीका कारण अलपत्र परेको यो आयोजना सरोकारवालाहरूको दबाबका कारण पछिल्ला केही महिना यता निर्माणले गति लिएको हो ।

निर्माण व्यावसायीले प्रयाप्त मात्रामा मजदुर र उपकरण परिचालन गरेर यतिखेर सडकको पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । निर्माण कम्पनीले अहिले बेनीदेखि पर्वतको जलजला गाउँपालिका ८ फर्सेसम्म नौ किलोमिटरको दूरीमा सडक स्तरोन्नतिको काम धमाधम गरिरहेको छ । 

जलजला गाउँपालिका वडा नम्बर ३ को पर्वत बेनी, ४ को लामाखेत, ७ को मिलनचोक, केराबारी, लस्ती क्षेत्र र ८ नम्बर वडामा पर्ने खनियाघाटमा गरेर एकसय ८० देखि दुई सयसम्म मजदुरहरू परिचालन गरेर दैनिक रूपमा सडक निर्माणको काम भइरहेको निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीका इन्जिनियर जिवन चौधरीले बताउनुभयो । केही दिनमा अरु थप मजुरहरू परिचालन गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सडक फराकिलो पार्ने, ग्याबियन झाली लगाउने, मेसिनरी वाल निर्माण, कल्भर्ट बनाउने र नाली बनाउनेलगायतका स्ट्रक्चर निर्माणको कामलाई तीव्रता दिएका छौं । मिलनचोक बजार क्षेत्र, पर्वत बेनी र फर्सेमा सडक बनाउन विवाद भएकाले समस्या भएको छ । ती क्षेत्रको समस्या पनि हटाइदिएमा काम गर्न सहज हुने थियो । आगामी असार मसान्त सम्म सडक निर्माण सम्पन्न गर्न हामी जुटेका छौं ।’’

मालढुङ्गादेखि फर्सेसम्म केही महिना अघि ढलान र कालोपत्रे गरेर बाँकी रहेको विभिन्न स्थानमा गरेर एक दशमलव आठ सय मिटर सडक फराकिलो पार्ने, नाली पर्खाल निर्माण गर्ने, सब बेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न प्राइम कोट (बिटुमिन) बिछ्याउन थालिएको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विष्णु चापागाईले जानकारी दिनुभयो । आइतबारदेखि केही दिनका लागि यातायात बन्द गरेर कालोपत्रे र अन्य स्थानमा सडक फराकिलो पार्ने काम गरिने उहाँले बताउनुभयो ।

बाँकी एक किलोमिटरमा पनि निर्माण व्यावसायीले स्ट्रक्चरको काम सकेर सब बेस बिछ्याइ सकेकाले दिनमा कालोपत्रे गर्ने काम अघि बढ्ने उहाँको भनाइ छ । अहिलेसम्म मालढुङ्गादेखि पर्वतको जलजला गाउँपालिका ८ फर्सेसम्म जम्मा दुई किलोमिटर सडक कालोपत्रे भएको छ भने झण्डै दुई किलोमिटर सडक ढलान गरिएको छ ।

समग्र रूपमा आयोजनाको अहिलेसम्म ६३ प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति हासिल भएको आयोजनाका सूचना अधिकारी चापागाईले बताउनुभयो । अन्तिम पटक थपिएको म्याद आगामी असार मसान्तसम्म भएकाले निर्माण व्यावसायीले मजदुर र उपकरण परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिएको उहाँले बताउनुभयो ।

‘‘केही स्थानहरुमा सडक फराकिलो बनाउने विषयमा विवाद र समस्या भएको छ । जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय पर्वतसहित सरोकारवालाहरूको पहलमा विवाद मिलाउन पहल भइरहेको छ । समस्या चाँढो मिलेमा सडक निर्माण सहज हुने थियो,’’ सूचना अधिकारी चापागाईले भन्नुभयो ।

समयमै सडक निर्माण नहुँदा जिर्ण सडक, सडकमा पानीका तलाउ, खाल्टाखुल्टी र धुलोका कारण मालढुङ्गा हँदै दैनिकजसो म्याग्दी र मुस्ताङ जाने सयौं सवारीसाधन र हजारौं यात्रुले सास्ती भोग्दै आएका छन् । मुख्य ठेकेदारले सहायक ठेकेदार ओमकारेश्वरलाई सडक निर्माणको जिम्मा दिएको थियो । सहायक ठेकेदारले एक वर्ष काम गरेपछि सडक अलपत्र पारेर आयोजनाबाट बाहिरिएको थियो ।

करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले आस्फाल्ट प्रविधिको कालोपत्रे गर्ने आयोजनाले जनाएको छ । 

कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा सडक कालोपत्रे गरेपनि दुई वर्षमै जीर्ण भएको थियो । ट्रयाक खुलेको करिब ३० वर्षपछि सडक फराकिलोसहित कालोपत्रे हुने भएको छ ।