• १० फागुन २०८१, शनिबार

प्रभावकारी बन्दै वैदेशिक रोजगारी टेलिमेडिसिन सेवा

blog

काठमाडौँ, फागुुन १० गते । “डाक्टरसाब नमस्कार ! एक महिनाभन्दा बढी भयो खाना खाएपछि सधैँ पेट दुुख्ने र पोल्ने हुन्छ के भएर हो, ठुलै रोग पो लागेको हो 

कि ? सिरियस भएर हेरिदिनुु है ।” साउदी अरबमा कार्यरत विमल राईले वीर अस्पतालमा सञ्चालित टेलिमेडिसिन युुनिटलाई ह्वाट्सबमा म्यासेजमार्फत गर्नुुभएको अनुुरोध हो यो । 

यस्तै संयुक्त अरब इमिरेट्स (युुएई) मा कार्यरत कमल थापाले पनि भाइबरमार्फत उक्त युुनिटललाई भ्वाइस म्यासेज गर्दै भन्नुुभयो, “केही दिन भयो, असाध्यै छिटो छिटो पिसाब लाग्छ । पिसाब गर्दा पोल्छ पनि, के भएर हो ? औषधी खाएर निको हुन्छ कि हुँदैन डाक्टरसाब ?” 

वीर अस्पतालमा रहेको टेलिमेडिसिन युुनिटमा वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट दैनिक यस्तै खालका समस्यासहितका फोन र म्यासेज आउँछन् । 

सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलक्षित निःशुल्क टेलिमेडिसिन सेवाका लागि राई र थापा जस्ता छ हजार ६७८ जनाभन्दा बढीले स्वास्थ्य परामर्शका लागि फोन गरेका छन् । वीर अस्पतालमा सञ्चालन गरिएको टेलिमेडिसिन युुनिटका अनुसार फोनमार्फत आएको रेकर्ड गरिए पनि सबै रेकर्ड व्यवस्थित गर्न सकिएको छैन । 

वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा वीर अस्पतालमा सञ्चालन गरिएको चिकित्सक परामर्श युनिटले विभिन्न ३१ देशमा कार्यरत नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गर्दै आएको छ । बोर्डले २०७९ चैत १५ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले वीरमार्फत निःशुल्क टेलिमेडिसिन सेवा दिँदै आएको छ । 

बोर्डले वीर अस्पतालमा सुरु गरेको स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा. सञ्जय धरेलले विदेशबाट टेलिमेडिसिन सेवा लिनेमध्ये सबैभन्दा धेरैमा कब्जियत, पेट दुख्ने र खान मन नहुने, छालाको समस्या रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यीबाहेक ढाड दुख्ने, हातखुट्टा सुनिने, मुटुको धड्कन बढ्ने, मनोरोगसम्बन्धी समस्या पनि छन् । 

टेलिमेडिसिनमार्फत सेवा लिने श्रमिकले सुनाएका लक्षणका आधारमा सम्बन्धित विशेषज्ञ चिकित्सकले हेरेर चिकित्सकको ‘प्रेस्व्रिmप्सन’ अनलाइनमार्फत उपलब्ध गराइँदै आएको डा. धरेलले जानकारी दिनुभयो ।  

बोर्डका अनुसार सो अवधिमा टेलिमेडिसिन सेवा लिएकामध्ये सबैभन्दा धेरै मलेसिया र खाडीका देशमा कार्यरत श्रमिक रहे पनि अमेरिका, बेलायत, जापान र दक्षिण कोरियाबाट पनि छन् । यस अवधिमा मलेसियामा कार्यरत ९९८, साउदी अरबबाट ७२२ र युुएईबाट ४४४ र कतारबाट ३९८ जनाले स्वास्थ्य परामर्श सेवा लिएका छन् । यस अवधिमा नेपालीको आकर्षक श्रम गन्तव्य देश मानिने दक्षिण कोरियामा २७४ जना र जापानमा कार्यरत १३३ जना नेपालीले स्वास्थ्य परामर्श सेवा लिएको बोर्डले जनाएको छ । 

उहाँका अनुसार यस अवधिमा सो युुनिटबाट स्वास्थ्य सेवा वा परामर्शका लागि सम्पर्कमा आएका छ हजार ६७८ जनामध्ये सबैभन्दा धेरै मेडिसिनसम्बन्धी सेवा लिने एक हजार ४४ जना, मानसिकसम्बन्धी ४१० जना, सर्जरीसम्बन्धी ५६६ जना छन् । 

युुरो (पिसाबसम्बन्धी) ११० र दाँतसम्बन्धी ६९ जनालाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको संयोजक धरेलले बताउनुुभयो । यीबाहेक हाडजोर्नीसम्बन्धी पनि एक हजारको हारहारीमा स्वास्थ्य समस्या आएर सम्बन्धित विशेषज्ञ चिकित्सकमार्फत परामर्श उपलब्ध गराएको पनि उहाँको भनाइ छ । 

डा. धरेलले वैदेशिक रोजगारीमा रहेका श्रमिकले भनेका समस्या टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा हरेक आइतबार र शुव्रmबार उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । आइतबार र शुव्रmबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा ती दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताउनुभयो । सामान्य स्वास्थ्य समस्यामा उपचार गराउने व्यवस्था नहुँदा वैदेशिक रोजगारीमा गएका कैयौँ श्रमिकको उतै मृत्यु हुने गरेकाले केही भए पनि राहत होस् भनेर यो सेवा सुरु गरिएको जानकारी उहाँले दिनुभयो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्ष्य गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि–२०७९ स्वीकृत गरेसँगै सेवा दिँदै आएको छ ।  बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्ने व्यवस्था छ । 

विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु¥याउन पहिलो पटक सञ्चालनमा ल्याइएको उक्त सेवा प्रभावकारी बनाउन सजिलो नभएको स्वयम् सरकारका अधिकारी नै स्वीकार गर्छन् । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले नेपालमा रहेका चिकित्सकले विदेशमा रहेका श्रमिकले भनेका कुरालाई आधार मानेर दिने स्वास्थ्य सेवा प्रत्यक्ष भेटेर बिरामी परीक्षण गरे जस्तो प्रभावकारी हुन नसक्ने बताउनुभयो । 

उहाँले विदेशमा कार्यरत श्रमिक सामान्य स्वास्थ्य समस्याका कारण जटिल अवस्थाको बिरामी हुन नपरोस् भनी टेलिमेडिसिनमार्फत श्रमिकको आवश्यकता अनुसार स्वास्थ्यसम्बन्धी सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउन थालिएको जानकारी दिनुभयो । बोर्डका अनुसार सार्वजनिक बिदाको दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिँदै आएको छ ।