• २६ चैत २०८२, बिहिबार

‘किसानलाई उत्पादनमा जोड्न प्रदेश सरकार प्रतिबद्ध’

blog

दाङ समाचारदाता

दाङ, चैत २६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबिचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताउनुभएको छ ।

सिँचाइ दिवसका अवसरमा प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका कारण नदी तथा खोला सुक्दै जानु र जमिन सुक्खा बन्दै जानु गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गर्नुभयो । 

उत्पादनशील जमिन खण्डहर बन्न नदिन समयमै बहस, छलफल र ठोस योजना आवश्यक रहेको उहाँको भनाइ थियो । “नदी सुक्दै जाँदा समस्या बढ्न सक्छ । अनुकूलनका योजनालाई प्राथमिकता दिन जरुरी छ । जलाशय निर्माण गरेर पानीको स्रोत संरक्षण गर्न जरुरी छ,” उहाँले भन्नुभयो, “भूमिगत पानी पनि घट्दै गएको छ । खोला र नदी पनि सुक्दै गए । हामी संवेदनशील भएनौँ भने उत्पादनशील जमिन खण्डहर हुने अवस्था रहन्छ । वैकल्पिक रूपमा ड्याम र जलाशय बनाएर अघि बढ्न जरुरी छ ।” 

उहाँले सिँचाइ सुविधा पुगेका क्षेत्रमै पनि जमिन बाँझो रहने अवस्था अन्त्य गर्नुपर्ने बताउँदै सरकार किसानलाई उत्पादनमा जोड्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । राज्यले लगानी गरेका सिँचाइ आयोजनाबाट अपेक्षित प्रतिफल नआउनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै त्यस्ता क्षेत्रमा खेती विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले प्रदेश स्थापना हुँदाको अवस्थामा १२ महिना सिँचाइ सुविधा पुगेको जमिन २० प्रतिशत मात्रै रहेको स्मरण गर्दै अहिले त्यो ३५ प्रतिशत पुगेको जानकारी दिनुभयो । 

मुख्यमन्त्री आचार्यले जलस्रोत संरक्षणका लागि जलाशय, ड्याम निर्माण तथा चुरे क्षेत्रमा पानी संरक्षणका उपाय लागु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भूमिगत पानीको सतह घट्दै जानु र खोलानाला सुक्दै जानुले भविष्यमा ठुलो सङ्कट निम्त्याउन सक्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले प्रदेश सरकारले बाह्रै महिना सिञ्चित हुने क्षेत्रको विस्तारलाई बढाइरहेको बताउनुभयो । पूर्वमुख्यमन्त्री जोखबहादुर महराले सिँचाइ क्षेत्रलाई कृषि विकासको आधारका रूपमा प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । 

पूर्वसिँचाइमन्त्री वीरबहादुर रानाले उत्पादनमा आत्मनिर्भर बन्ने आधार तयार भइसकेको उल्लेख गर्दै किसानको मन जित्ने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो । प्रदेश योजना आयोगका सदस्य शान्तादेवी ढकालले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सिँचाइ पूर्वाधारको सुदृढीकरणमा जोड दिनुभयो । प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समितिका सचिव भीमलाल चौधरीले कृषि क्षेत्रको विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव चूर्णबहादुर ओलीले मन्त्रालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।