• ११ असार २०७९, शनिबार
blog

आज जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइँदैछ। नेपालमा गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेस भित्र सुरुवाती दिनदेखि नै सङ्घर्ष गर्नुभएका पूर्व मन्त्री एवम् नेता नरहरि आचार्यसँग गोरखापत्र अनलाइनका लागि पत्रकार दिनेश लुइटेलले गरेको कुराकानी :

भिडियोः मनोजरत्न शाही र केशब गुरुङ   

गणतन्त्र दिवसलाई कसरी सम्झनुहुन्छ ?  

गणतन्त्र भनेको नागरिकले आफ्नो विश्वासलाई सर्वोच्च ठान्ने पद्धति हो। आफूभन्दा माथि कुनै शक्ति हुन्छ भन्ने कुरालाई नमान्ने पद्धति गणतन्त्र हो। यसमा कसैले पनि भय नगरेर आफूलाई लागेको कुरा भन्न पाउनु र भन्ने अभ्यास गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।  हामी लोकतन्त्रमा वाक स्वतन्त्रता हुन्छ भन्छौँ। वाक स्वतन्त्रता सबै किसिमको स्वतन्त्रताको जननी चाहिँ मान्छेले आफूलाई लागेको कुरा बोल्न पायो भने हुन्छ। बोल्न पायो भने मात्र उसले खान पाइन भन्नसक्छ, गर्न पाएन भन्न पनि पाउँछ,  लाउन पाइनँ भन्न पनि पाउँछ, काम गर्न पाइनँ भन्न पनि पाउँछ। त्यसैलाई सबैभन्दा महत्वपूर्ण मानेर हामी त्यो अधिकारबाट सुसिज्जत छौँ। आफ्नो कुरा भन्न, बोल्न र सबैकुरा गर्नका लागि हामी आफैंमाथि निर्भर हुन पाउने स्वतन्त्रता नै गणतन्त्रको शुभकामना हो। हामीले यो दिवस मनाउँदा अनुभूत गर्न सकिने कुरा त्यही हो।  


गणतन्त्र शब्द उच्चारण गर्न नपाउने अवस्थालाई कसरी सम्झनुहुन्छ ? 

त्यो बेलाको स्थिति सम्झिँदा मार्मिक नै थियो। म घरमा बसिरहेको अवस्थामा (२०६१ माघ १९ गते मंगलबार राति १० बजे) प्रहरी आए। तर, पुर्जी ल्याएका थिएनन्। जबरजस्ती उठाए। त्यो बेलामा आफू प्रहरीसँगै गइयो। तर, परिवार र शुभचिन्तकलाई कहाँ के भयो कसो भयो भन्ने थाहा पत्तो नहुने स्थिति थियो। अहिले त्यो समय सम्झिँदा त्यो कुरा पनि हुन्छ र ? भन्ने स्थिति आएको छ। त्यो कुरा बताउँदा हामीलाई अत्यन्त अनौठो लाग्नसक्छ, अझ नयाँ पुस्ताका लागि यो अनौठो विषय बन्छ। त्यो हाम्रो समस्या भयो। हामीभन्दा अगाडिको पुस्ताले झन कठिन दिन सहेका हुन्। त्यो सम्झिँदा हाम्रा सङ्घर्ष सजिलै रहेछन् भन्ने लाग्छ। हाम्रो अघिल्लो पुस्ताले गरेको सङ्घर्ष झन् कठिन थियो। हामी उनीहरुले बनाएको बाटोमा हिँडेका हौँ। अहिले जे जति भएको छ त्यसलाई प्रयोग र सुधार गरेर नयाँ पुस्ताले अगाडि काम गर्नुपर्छ। 

आफ्नै पार्टी र दरबारले निशाना बनाइरहँदा पनि गणराज्य अभियान किन सञ्चालन गर्नुभएको थियो ? 

 अलिकति नयाँ कुरा गर्दा जहाँ पनि अफ्ठेरो हुने नै भयो। दरबारको विरुद्ध बोल्नु त्यो राजतन्त्रात्मक पद्धतिका लागि विरोध थियो। त्यसमा उसको असहमति हुनु स्वाभाविक थियो। मैले एकैपटक त्यो भनेको थिइनँ। विस्तारै अगाडि बढ्दै जाँदा त्यस्तो भन्नुपर्ने स्थितिमा पुगेको हो। गणतन्त्रलाई हामीले निषेध गर्नु हुँदैन भनेर मैले सुरु गरेको थिए। २०५२ सालमा त्यो बेलामा म मन्त्री (संसदीय मामिला) नै थिएँ। विस्तारविस्तार स्थितिले माग गर्दै गएपछि मलाई यो कुरा कांग्रेसका कार्यकर्तालाई बुझाउनु पर्यो भन्ने लाग्यो। त्यसकारण मैले देशको सबै क्षेत्रमा घुम्न थालेँ। घुम्दा गणराज्य अभियानको प्रस्ताव लिएर घुम्न थालेको थिएँ। त्यसमा अलिअलि विरोध हुनु स्वाभाविक नै थियो। तर, त्यसबाट विचलित हुने कुरा थिएन। त्यो अत्यावश्यक भइसक्यो भन्ने लाग्यो र सबैलाई भन्दै गएँ र परिस्थिति पनि त्यसरी नै विकसित हुँदै गयो। गणतन्त्रको एक प्रकारको यात्रा त्यसरी नै भयो। 

गणतन्त्र स्थापनाका लागि गरेको सङ्घर्षलाई कसरी कसरी सम्झनुहुन्छ ? 

सङ्घर्ष चुनौतीपूर्ण थियो, त्यो अत्यावश्यक पनि थियो। हामीले कठिन सङ्घर्ष गर्यौ भन्ने त मलाई लाग्दैन। थुनिएकै ठाउँमा के हुन्छ हुन्छ भन्ने स्थिति चाहिँ थियो। संघर्ष गर्दा हामीले नराम्रो हुुन्छ भन्ने कल्पना नै गरेनौँ। एक प्रकारले त्यो स्वाभाविक आन्दोलन थियो। त्यत्तिखेरको मानसिकता र परिस्थिति स्वाभाविक थियो। त्यो आवाज अलिकति त संस्थापन पक्ष त्यो बेलाको पार्टीको भन्दा पनि राज्यको संस्थापन पक्ष विपरीत थियो। पार्टीका लागि पनि अनुकूल थिएन। त्यो हिसाबले कुनै किसिमको आफूलाई रोकिएको अथवा कुनै कुरा बाधा पुगेको जस्तो ठानिएन। हुन त विभिन्न बाधा आए पनि हामी आन्दोलनमा अगाडि बढिरहयौँ। यसरी अगाडि बढ्नु आवश्यक थियो र त्यो चल्यो। 

गणतन्त्रका उपलब्धिलाई कसरी हेर्नुभएको छ ? 

अहिले स्थानीय तहको चुनाव दोस्रो पटक सकिएको छ। यसले मानिसमा नयाँ किसिमको उत्साह पनि आएको छ। जे भए पनि पाँच वर्षमा प्रारम्भिक अनुभव भयो। सबै तहको सरकारको अनुभव गरिकन दोस्रो पटक चुनावको शृङ्खला सुरु भएको छ। स्थानीय सरकारको चुनाव सम्पन्न भइसकेको छ। त्यसका परिणाम आइसकेका छन्। त्यस हिसाबले हेर्दा मान्छेलाई यो सिस्टमले आफ्नै रुपम काम गर्दैछ भन्ने लागेको छ। असन्तोष त विभिन्न किसिमका छन्। पार्टीका गतिविधिबाट असन्तुष्ट छन्। त्यो असन्तोष चुनावमा प्रस्तुत गरेका छन्। जस्तो भए पनि अहिले जे भयो निर्वाचनले राम्रै गर्यो भन्ने लाग्छ। अरु कुरा चाहिँ प्रारम्भिक चरणमै छ। संविधान बनेपछि निर्वाचन भएको पाँच वर्ष भयो। त्यसको मूल्याङ्कन भएर चुनाव भएको छ। स्थानीय चुनाव भए पनि राष्ट्रिय पार्टीकै चुनाव चिह्नमा चुनाव हुनुपर्ने स्थिति भएकाले यो एक प्रकारले राष्ट्रिय चुनावकै प्रारम्भ जस्तो पनि भयो। यो चुनावको शृङ्खला पनि सुरु भयो। यसका पात्र र अभ्यास जो छन् सबै चित्तबुझ्दा भएका छैनन्। नभए पनि यसमा क्रमशः सुधार हुने अपेक्षा गर्न सकिन्छ। 


संघीयता, लोकतन्त्र र गणतन्त्र सही बाटोमै छन् होइन ?

सही बाटोमै छन्। यो चुनाव चाहिँ जनताको अभिमतको आधार हो।  विभिन्न विचार र सिद्धान्त बोकेका पार्टी चुनावमा सहभागी भए। कोही संघीयता विरोधी चुनावमा थिए, कोही गणतन्त्र विरोधी पनि एक प्रकारले चुनावमा सहभागी थिए। सिद्धान्ततः उनीहरुले गणतन्त्रात्मक संविधान अनुसार चुनाव लडेका थिए। तर, उनीहरुको छुट्नै आफ्नै मत र विचार थियो। उनीहरुले जुन मत पाए त्यो जनताका बीचमा लोकप्रिय छ भन्ने देखिएन। यसले पनि एउटा पद्धतिले राम्रोसँग काम गर्दै गएको छ भन्ने कुरा देखाएको छ।  

गणतन्त्रप्रति नै असन्तुष्टिका स्वर अझै छन्, ती आवाजलाई कसरी हेर्नुभएको छ ?

हामीले गणतन्त्र स्थापना गरेको १५ वर्ष बढी भएको छ। यो त्यत्ति परिपक्क स्थितिमा पुगेन र पुगेको छैन भन्न सकिन्छ। तर, परिपक्क नहुँदै जनताले जुन हिसाबले स्वीकृत गरेका छन् त्यो हिसाबले पद्धतिका लागि ठूलो समस्या आउँछ भन्ने लाग्दैन। 

गणतन्त्रप्रति कुनै शक्ति वा समूहबाट खतरा देख्नुहुन्छ ?

गणतन्त्रका लागि कुनै समूह वा शक्तिबाट चुनौती त हुनसक्छ। तर, खतरा छैन। 

गणतन्त्र कार्यान्वयनमा हाम्रा राजनीतिक दल र नेता चुक्नुभयो भन्ने त लाग्दैन ?

नेताहरुका धेरै किसिमका आलोचना भएका छन्। कार्यप्रकृति र कार्यशैलीमा आलोचना भएका छन्। आलोचना हुनु स्वाभाविक छ। नेतृत्वको वैयक्तिक कुराको आधारले पद्धतिमाथि टिकाटिप्पणी गर्ने अवसर सिर्जना हुन्छ। त्यो स्वाभाविक हो। नेतृत्वको प्रभावकारिता र नेतृत्वको कार्यकुशलता अत्यावश्यक हुन्छ। पद्धतिलाई पनि उनीहरुले अलिकति बदनाम गर्न सक्ने स्थिति पनि आउँछ। केही कुरामा त्यस्तो देखिन्छ पनि। तर, नेता भन्नासाथ एउटा मात्र हुँदैन लोकतान्त्रिक पद्धति भएकाले सबैले आफ्ना विचार व्यक्त गर्न पाउने भएकाले कमजोरी आए पनि आलोचना उत्तिकै हुन्छ, यो पद्धतिमा। आलोचनाबाट पनि मान्छे सच्चिने र नसच्चिए फालिने पनि सम्भावना हुन्छ। कि सच्चिने कि फालिने हुन्छ। अर्को आउँछ। यस्तो पद्धतिमा एकोहोरो गर्दै जान्छु र यसैमात्र गर्छु भन्न सकिँदैन। नेतृत्व जत्ति घमण्डी भए पनि त्यो टिक्न सक्दैन। 

गणतन्त्रको प्रतिफल जनजनमा पुर्याउन कसले के गर्नुपर्छ भन्ने लाग्छ ? 

हामीले उपलब्धि पाएनौ भन्ने जनताको गुनासो जायज छ। त्यो बारम्बार भइराख्यो भने नेतृत्व र नेतालाई त्यसले सच्चिने मौका दिन्छ। नेतृत्वलाई एउटा सबैभन्दा विचार गर्नुपर्ने कुरा के हुन्छ भने जनताको मनस्थिति र परिस्थितिका बारेमा उनीहरुले मूल्यांकन गरिरहनुपर्छ। मूल्यांकन गर्न नसक्दा उनीहरु टिक्न सक्दैनन्। त्यसो भएको हुँदा नेतृत्वका लागि जनताले आलोचना गर्नु एकदम आवश्यक छ। प्रशंसाले मात्र नेतृत्व अगाडि बढ्न सक्दैन। प्रशंसा मात्र भयो भने पद्धति पनि अगाडि बढ्न सक्दैन। आलोचना पर्याप्त मात्रामा हुनुपर्छ। परस्पर पार्टीले आलोचना गर्ने कुरा एउटा पक्ष छ । नागरिक समाजको आलोचना आवश्यक हुन्छ। नागरिक समाज जागरुक भएर रहँदासम्म नेतृत्व वर्ग विचलित हुन पाउँदैन। विचलित भए पनि त्यसलाई चेतावनी दिने अवसर बेलाबेलामा रहन्छ।